कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
710

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकीकरण आयोजनाअनुसार आन्तरिक टर्मिनल भवन विस्तारको काम एक महिनाभित्रै सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको जग्गा सट्टा लिई आन्तरिक टर्मिनल भवन निर्माण गर्ने भएको हो । प्राधिकरणले सेनाको करिब ५ सय मिटर वरपरको जग्गामा टर्मिनल भवन विस्तार गर्नेगरी तयारी गरेको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आन्तरिक टर्मिनल भवन विस्तारको काम एक महिनाभित्र सुरु गर्ने गरी ठेक्का प्रक्रिया अगाडि बढेको जानकारी दिए । त्यसपछि सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने गरेको घोषणाअनुसार आन्तरिक टर्मिनलमा पनि सजावटको काम गर्ने जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रूपमा विकास गर्ने गरेको घोषणअनुसार हाल सजावटको काम भइरहेको छ । बुटिक विमानस्थलको रूपमा परिणत गर्न नेपालको संस्कृति चिनाउने मठ मन्दिर, कलाकृति, कुमारी, सगरमाथालगायतमा ठूला ठूला तस्बिरहरूले विमानस्थल सजाउने, एकसिंगे गैंडा, मुसो सवार गणेशलगायत अन्य धार्मिक कलाकृतिले विमानस्थलको बगैचा सजाउने लगायतको कार्य सम्पन्न भइसकेको छ । विमानस्थलका महाप्रवन्धक क्षेत्रीले अल्पकालीन र दिर्धकालीन कार्ययोजना अन्र्तगत एक वर्षभित्र बुटिक विमानस्थलमा परिणत गर्ने गरी काम भइरहेको बताए । उनले गत वैशाख एक गते नै प्रधानमन्त्री केपी शर्मा आलीले बुटिक विमानस्थलको रूपमा विकास गर्ने तयारी गरे पनि उहाँको व्यस्तताले गर्दा घोषण नभएपनि काम भने सुरु भइसकेको बताए ।
विमानस्थलका महाप्रबन्धक क्षेत्रीले विमानस्थल भित्र थप दुईवटा भन्सार क्षेत्र थप गर्ने तयारी गरेको पनि बताए । हाल विमानस्थल भित्र ४ वटा भन्सार क्षेत्र रहेको छ । यस्तै, विमानस्थलका महाप्रवन्धक क्षेत्रीले अबको छ महिनाभित्र भन्सार क्षेत्र थप गर्नेदेखि स्टाइल हल, पार्किङ्ग विस्तार, ग्राउण्ड ह्यान्डलिङका गाडी सबै नयाँ परिणत गर्ने लगायतको काम गर्ने पनि बताए ।
यसैबिच नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीमा उडान थप गरेको जनाएको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौं उडान स्थगित गरेका कारण यात्रुको चाप बढेकोले निगमले दिल्ली उडान थपेको भन्दै निगमले आगामी वैशाख १८ देखि काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ । यसअघि निगमले न्यारोबडी र वाइडबडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइडबडी जहाजबाटै गर्ने जनाएको छ । निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन दिन उडान गर्दै आएको छ ।