कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६
498

मुलुकको प्रत्येक गाउँ ठाउँमा पर्यटन जागरणको सन्देश फैलाउनु पर्ने उद्देश्य बोकेर कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औं पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राइज फाउण्डेसन (हामी उठ्ने छौं) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
प्रतियोगीले देशैभरिका ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुन सक्ने कुनै पनि गाउँ ठाउँका प्राकृतिक, सांस्कृतिक, भेषभूषा, जातजातिको पहिचान, खानपान, कलालगायतका कुनै एक विषयवस्तुमा केन्द्रित रही अधिकतम पाँच मिनेटसम्म्को भिडियो बनाउन सक्नेछन् । कुनै व्यक्ति समूह वा संस्थाले फरक–फरक विषयवस्तुमा केन्द्रित रही एकभन्दा बढी भिडियो समावेश गर्न सक्ने प्रावधान छ । गत जानवरीबाट १ सुरु प्रतियोगिता ३१ मे २०१९ सम्म चल्नेछ । देशैभरिबाट भिडियो संकलनार्थ यस फाउन्डेसनले सातै प्रदेशका १६ ठाउँ काठमाडौं, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, सुर्खेत, दाङ, वीरगन्ज, जनकपुर, इटहरी, बिर्तामोड, मोरङ, पोखरा, तनहुँ र भैरहवा गरी पत्रकार सम्मेलन एवं अन्तरक्रियाको आयोजना गरिसकेको छ ।

राष्ट्रिय सभाकी सांसद कोमल वली, भ्रमण वर्ष–२०२० का संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, अल्ट्रा धावक मीरा राई, पूर्वराष्ट्रिय फुटबलर एंव प्रशिक्षक राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा लगायतले फुर्वालाई बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका भिडियो च्यालेन्ज ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डा हस्तान्तरण गरेका हुन् ।
सांसद कोमल वलीले नेपालका गाउँ ठाउँलाई विश्वभर परिचित गराउन यो अभियान अत्यन्तै सान्दर्भिक एवं समयसापेक्ष रहेको बताउँदै सबैलाई सहयोगको अपिल गरिन् । भ्रमण बर्षका संयोजक सुरज वैद्यले यो अभियानको अवधारणा नै उत्कृष्ट रहेकाले भ्रमण वर्ष २०२० पनि यस अभियानसँग जोडिएको जानकारी दिए ।
उनले लुकेका ठाउँलाई बाहिर ल्याउन यस्ता अभियान महत्वपूर्ण हेन भन्दै यस्ता अभियानका लागि ‘भ्रमण वर्ष–२०२०’ कार्यक्रमले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वि विल राइज फाउन्डेसनका अप्रेसन निर्देशक अनुप के बरालले भिडियो च्यालेन्ज अभियानले आफ्नो ठाउँको विशेष पहिचानलाई बाहिर ल्याउन सहयोग गर्ने भन्दै अहिलेसम्मको सहभागिताले आफूहरु उत्साहित भएको बताए ।
सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पाले मुलुकको प्रत्येक गाउँ ठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयास अनुरूप आरोहणको १४ औं पटक ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डा सगरमाथाको चुचुरोमा फहराउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानले नेपालको पर्यटन विकासमा ठूलो योगदान दिने बताए ।
देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने तथा प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले १ लाख रुपैयाँ नगदसहितको पुरस्कार पाउने कार्यक्रममा जानकारी दिइयो । यस्तै, दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन् । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि १ लाख रुपैयाँकै पुरस्कार पाउने छ ।
साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५र२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ । उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट २ लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने पनि जनाएको छ ।