दिलबहादुर केसी
बुधवार, बैशाख ४, २०७६
802

दोलखा-शैलुङ अर्थात सयवटा थुम्का । तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का । यसलाई शैलुङ नामबाट चिनिन्छ । प्राकृतिक तथा धार्मिक मनोरम दृश्यावलोकनका लागि महत्वपूर्ण गन्तव्य शैलुङ घुम्नेहरूका लागि नव वर्ष २०७६ अवसरमा आन्तरिक पर्यटकको मुख्य रोजाइमा प-यो ।
प्रतिकूल मौसमका बाबजुद पनि शैलुको थुम्कामा २०७६ सालको पहिलो दिन ५ हजारभन्दा बढीले भ्रमण गरे । “बिहानैदेखि ओहोरदोहोर गर्नेहरूको लर्को साँझसम्म थियो” शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले भने, “मौसमले साथ दिएन, तर पनि शैलुङका लागि इतिहासमै पहिलो पटक यति धेरै मान्छे देखेको हुँ ।”

शैलुङ पुग्नका लागि रिङरोड निर्माण भएको छ । शैलुङ गाउँपालिकाले ढुंगेदेखि कालापानी, झोर मनगाउँसम्म देउराली, चायँछाप, भैंसेबाट ७ मिटर चौडाइको सडक बनाएको छ । तर सबै सडक निर्माणाधिन हुँदा भारी वर्षाको बेला गाडी फस्ने, अड्किने गर्छ । तर, पनि पर्यटकहरू उत्साहका साथ शैलुङ पुगेका हुन् ।
शैलुङ पुग्न रामेछापको दोरम्बा गाउँपालिकाको खोलाखर्कबाट पनि पुग्न सकिन्छ । तर, उताबाट जाँदा दोरम्बा गाउँपालिका बाहिरबाट आउँदा लामो यात्रा र सडक राम्रो नभएकाले दोलखाहुँदै शैलुङ पुग्न सहज छ । शैलुङ पुग्न कालापानीबाट पैदल यात्रीका लागि सिढी बनेको छ । अन्य पूर्वाधारका काम पनि भई रहेको छ । सुविधासम्पन्न होटल नहुँदा पर्यटकहरूलाई खाना बस्न समस्या नहोस् भनेर कालापानीमा होटल बनाउनेलाई गाउँपालिकाले २ लाख अनुदान दिने घोषणा गरेको छ ।
शैलुङमा पर्यटन पवद्र्धनका लागि वैशाख १३, १४ र १५ गते शैलुङ महोत्सवसमेत हुँदैछ । यसका लागि रामेछापको दोरम्बा गाउँपालिका, दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिकाले महोत्सवको आयोजना गरेका हुन् । शैलुङ तीनै गाउँपालिकाको थुम्की हो ।
दोलखामा २५ हजार पर्यटक
नयाँ वर्ष मनाउँनेहरूको रोजाइमा २५ हजार बढी पर्यटकहरू दोलखाका आएका छन् । नयाँ वर्षको पूर्व सन्ध्यामा २०७५ लाई बिदाइ र २०७६ को स्वागतमा विभिन्न ठाउँबाट दोलखामा आउने आन्तरिक पर्यटकहरूको संख्या वृद्धि भएको हो ।
नयाँ वर्षका लागि शुक्रबारदेखि आइतबारसम्म उत्तिकै भीड लागेको छ । नयाँ वर्ष मनाउन विशेष गरी कालिञ्चोक, दोलखा, भीमेश्वर, शैलुङ, जिरी, महाङ्काल, खरिढुंगा लगायतका पर्यटकीय स्थलहरूमा विशेष गरी भीड लागेको थियो । प्राकृतिक मनोरञ्जन लिन र धार्मिक दर्शनका लागि काठमाडौं र तराईका जिल्लाबाट पर्यटकहरू दोलखा आएका हुन् ।
नयाँ वर्षका दिन कालिञ्चोकमा १० हजार बढी पर्यटकहरू पुगेका थिए । कालिञ्चोक जाने पर्यटकहरूका कारण कुरीका होटलहरू एक सातादेखि खचाखच छन् । शुक्रबार र शनिबारबार मात्र १ हजारभन्दा बढी ठूला साना ठूला सवारी साधनहरू पुगेका थिए । नयाँ वर्षका दिन गाडी नपाउँदा बोलेरो र ट्रकमा समेत यात्रा गर्न बाध्य थिए ।
चरिकोटमा रहेका २ सय ५० वटा बोलेरोले मात्र कालिञ्चोकमा ४ ट्रिपसम्म पर्यटकहरू ओसारेका थिए । पर्यटकहरूको अर्डर अनुसारको सेवा पु-याउन नसकेको बोलेरो गाडी व्यवसायी शेखर थापाले बताए ।
भीमेश्वर मन्दिरमा दर्शनार्थीहरूको नयाँ वर्षको दिन बिहानैदेखि भीड लागेको थियो । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मन्दिरभन्दा ५ सय मिटर तलदेखि लाइन थियो । लाइन मिलाउन स्थानीय प्रहरी र स्वयम्सेवकहरूलाई हम्मेहम्मे परेको थियो । दर्शनार्थीको भीड भएपछि ४ घण्टासम्म पर्खनुपर्ने अवस्था थियो । भीमेश्वर मन्दिरमा १२ हजार बढीले दर्शन गरेको प्रहरीले जानकारी दिएको छ ।
शैलुङ, जिरी, प्रस्तावित चलचित्र नगरी खरिढुंगालगायतका स्थानमा पर्यटकहरू खचाखच छन् । गाउँ र सहरका पनि नयाँ वर्ष मनाउनका लागि नजिकका स्थानहरूमा समूह बनाएर पुगेका छन् । जिरीमा गत माघदेखि होटलमा ५० प्रतिशतसम्म छुट सुविधाले पनि पर्यटकहरूको आकर्षण गरेको छ ।
शुक्रबारदेखि सोमबारसम्म हिउँदे वर्षा भएको छ । प्रतिकूल मौसमका कारण कालिञ्चोक जाने सडकको देउरालीदेखि नै सडक हिलाम्य भयो । हिलाम्य सडकका कारण ठूला बसहरू र फरह्वील नभएका गाडी देउरालीभन्दा माथि जान सकेनन् । देउरालीदेखि फरह्वील भएका गाडीहरूले पर्यटकहरू ओसारेका थिए ।