कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
239

प्रधानमन्त्रीबाट पाँचतारे होटल सोल्टीको उद्घाटन

नेपालगन्जको बसुदेवपुरमा सञ्चालित नेपालकै पहिलो ग्रिन पाँचतारे होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक वर्षअघि सफ्ट ओपिनिङ गरी सञ्चालनमा ल्याइएको सोल्टी होटलको मंगलबार ग्राण्ड ओपिनिङ गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पर्यटनको विकास गरेर देशलाई आर्थिक रूपमा बलियो बनाउनुका साथै सयौं रोजगारीसमेत सिर्जना गर्न सकिने बताए । उनले पर्यटनको विकासका लागि होटल व्यवसायको सबैभन्दा अहम भूमिका हुने गरेको भन्दै नेपालगन्ज पछिल्लो समयमा आएर होटलहरूको हब बन्दै गएको बताए । ‘धार्मिक पर्यटकलगायत अन्य पर्यटक आकर्षित गर्ने योजना र कार्यक्रम बनाउनुस्, सरकारले त्यसमा हरसम्भव सहयोग गर्नेछ,” उनले भने ।

सुविधा सम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुने भए पनि यहाँको भुजइगाउँ, वासुदेवपुरमा सञ्चालन भइरहेको पाँच तारे ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ वातावरण अनुकूलन छ ।
यो होटल नेपालकै पहिलो हरित (ग्रिन) होटल मानिएको छ । हेर्दा सामान्य होटल जस्तै देखिए पनि यसले अपनाएको प्रविधि पूर्ण वातावरणमैत्री छ । कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल दाबी गरिएको छ । ‘जिरो कार्बन फुटप्रिन्ट’, एसिरहित, वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको होटलमा फोहोर व्यवस्थापन प्रविधिले फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रूपमा प्रयोग गर्छ भने ठोस वस्तुलाई मलखादका रूपमा प्रयोग गर्दै आएको छ । वातावरण जोगाउने उद्देश्यले युएस ग्रिन बिल्डिङ काउन्सिलको सुपरिवेक्षणमा होटल निर्माण भएको महाप्रबन्धक इन्द्र खड्काले बताए ।
उनका अनुसार, होटलको संरचना, होटल बन्ने क्षेत्रलगायत सबै युएस ग्रिन बिल्डिङ काउन्सिलको मापदण्डमा आधारित र काउन्सिलले पनि प्रिमियरलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने होटलको श्रेणीमा सिल्भर क्याटागोरीअन्तर्गत राखेको छ । हालै उक्त प्रमाणपत्र होटलले हात पारेको हो । एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिएको छ । फोहोर, बत्ती, एसी, पानी व्यवस्थापन त्यही मापदण्डअनुसार छ ।.
रेडियन प्रविधि खासगरी युरोपियन जर्मनी, क्यानाडालगायत मुलुकका होटलमा छ । मानिसको खानपान र बसाइँमा परिवर्तन आइसकेको छ, स्वस्थकर खानपान र स्वच्छ वातावरणमा बस्न चाहनेका लागि र आउँदो पुस्तालाई पनि प्रेरणा मिलोस् भनेर नयाँ प्रविधि सुरु गरिएको महाप्रबन्धक खड्काको भनाइ छ ।
विद्युत्मा मितव्ययिता अपनाइएको होटलमा स्वास्थ्य वातावरणका साथै चिसो तातोमा बस्न नसक्नेहरूका लागि उपयोगी पनि छ । बाहिरबाट आएको हावालाई प्रशोधन गरेर भित्र पठाउने र सोही हावा बाहिर जाँदा अझ सफा गरेर पठाइन्छ । चुलोबाट निस्कने धुँवालाई कार्बनरहित बनाइने गरेको छ ।
जर्मनी प्रविधि भए पनि यसको व्यवस्थापन नेपाली इञ्जिनियरले गरेका हुन् । होटलका इञ्जिनियर सुमन वाच्छा पर्यावरण सन्तुलन कायम गर्ने उद्देश्यले यो प्रविधि अपनाइएको बताउँछन् । ऊर्जा बचतका लागि एलइडी बत्ती प्रयोग गरिएको छ भने कोठाका झ्याल फराकिला छन् । जाडो महिनामा तातो र गर्मी महिनामा चिसो हुने स्वचालित रेडियन प्रविधि जडान गरिएको छ । नागबेलीजस्तो पानीको पाइपको कुलर बनाइएको छ ।
छिडरले पानी प्रत्येक कोठामा पठाउँछ । ठाउँठाउँमा सेन्सर जडान गरिएको छ । भवनमा व्यवस्थापन प्रणाली छ, भित्र तातो चिसो कति तापक्रममा छ भन्नेकुरा सहजै थाहापाउन सकिन्छ । यसका लागि साढे पाँच लाख लिटरको पानी ट्यांकी राखिएको छ । फायर फाइटिङका लागि ५० लाख लिटर पानी स्टक गरिएको छ ।
करिब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो होटल काठमाडौंको सोल्टी होटलको पहिलो भगिनी होटल हो । १ अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको होटलमा बार, रेस्टुराँ, ब्याङक्वेटका अलावा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ, स्विमिङपुलको सुविधा लिन सक्छन् । क्यासिनो पनि सुरु गर्ने योजना होटलले बनाएको छ ।
८१ कोठा रहेको होटलमा एक रात बस्न चाहेमा ४ हजार ३ सय खर्चनुपर्ने छ । डोल्पा, रारा, मानसरोवर जाने पर्यटक होटलमा बस्ने गरेका छन् । होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह सोल्टी वेस्टेन्ट प्रिमियर पूर्ण वातावरणमैत्री होटल भएको र यस्ता होटललाई प्रोत्साहन आवश्यक रहेको बताउँछन् । “होटलले पाँच तारे मान्यता पाउने प्रक्रियामा छ, अब नयाँ आउने होटलले पनि यस्ता प्रविधि अपनाउँछन् । पर्यटकले वातावरणमैत्री होटल खोज्छन् अहिले अन्तर्राष्ट्रिय ट्राभल ऐजेन्सीहरूले वातावरणमैत्री होटल खोजेर बुकिङ गर्ने गरेका छन्,” उनले भने ।