कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६
281

लमजुङ-जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि पर्यटकहरू थप आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटकले होटलभन्दा होमस्टे रोज्न थालेको पाइएको छ ।
न्यानो आतिथ्यताका माध्यमबाट गाउ“घरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेमा आकर्षित गरेको हो । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटकहरू सिधै होमस्टेका लागि पुग्ने गरेका छन् ।

अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकका लागि प्रवेशद्वारको रूपमा रहेको लमजुङमा आन्तरिक र बाह्य पर्यटकहरू समान रूपमा आउने गरेका छन् । जिल्लामा भित्रिएका पर्यटकमध्ये बर्सेनि हजारांै पर्यटक होमस्टेको मज्जा लिनकै लागि लमजुङ आउने गरेका छन् ।
जिल्लाको सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा रहेका सुविधा सम्पन्न होटलबाट आधुनिक सेवा सुविधा प्राप्त हुने भए पनि होमस्टेबाट परम्परागत सुविधा पाउने भएकाले अधिकांश पर्यटकले होमस्टे गन्तब्य बनाउ“दै आएका छन् ।
लमजुङका घलेगाउ“, गाउ“सहर काउलेपानी, घनपोखरा, नरुवाल, भुजङ, पसगाउँ, गिलुङ, सिउरुङ, खासुर, गहते, हिलेटक्सार, राइनास, ताघ्रिङको छापा, मिप्रा, सिंदुरे, पुरानकोटलगायतका एक दर्जनभन्दा बढी स्थानमा होमस्टे कार्यक्रम सञ्चालित छन् । घलेगाउ“ तथा भुजुङमा मात्रै वार्षिक ३० हजारभन्दा बढी पर्यटक पुग्ने गरेको बताइन्छ । यातायात सुविधा भएपछि पर्यटक सदरमुकाम बास नबसी सिधै घलेगाउँ पुग्ने गरेका छन् । सदरमुकाम बेसीसहरबाट करिब ३ घण्टामा घलेगाउँ पुग्न सकिन्छ ।
“पहिला पहिला घलेगाउँ पुग्न कम्तीमा ६ घण्टा हिँड्नु पथ्र्यो, एकरात बेसीसहरमै बास बस्नुपथ्र्यो,” घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घले भन्छन्, “अहिले गाउँसम्म मोटर पुगेपछि पर्यटकहरू सिधै गाउँ पुग्छन् ।” गाउँमा मोटर पुगेपछि आन्तरिक पर्यटकहरू थप आकर्षित भएको घलेले बताए । घलेगाउँ पुगेका पर्यटकहरू घनपोखार, एक गाउँ एक गाविस भनेर चिनिने भुजुङसम्म पुग्ने गरेका छन् ।
सदरमुकामबाट १० किमिको दूरीमा रहेको गाउँसहरको काउलेपानी पछिल्लो समय पर्यटकको विशेष रोजाइमा परेको छ । सदरमुकामबाट मोटरमा एक घण्टा र पैदल दुई घण्टामा काउलेपानी पुग्न सकिने भएकोले प्रायः पर्यटक सदरमुकामका होटल छोडेर होमस्टे पुग्दछन् । घलेहरूले राज्य गरेको यो ठाउ“मा शाहकालीन राजा कुलमण्डनका माहिला छोरा कालु शाहले राजकाज चलाएको दरबार पनि छ । नेपालको राजनीतिक इतिहासका शाहवंशीय राजाको दरबार, रानीकुवा, कालिका भगवतीको मन्दिरलगायतका ऐतिहासिक कुरा विशेÈगरी आन्तरिक पर्यटकका लागि आकर्Èणको केन्द्र बन्ने गरेका काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देव गुरुङ बताउँछन् । गुरुङका अनुसार काउलेपानीभन्दा केहीमाथि पुरानकोट गढीबाट एकैपटक फिस्टेल हिमाल, अन्नपूर्ण, लमजुङ पहिलो, दोस्रो र तेस्रो हिमाल, मनास्लुलगायतका एकदर्जन हिमालको एकदमै नजिकबाट दृश्यावलोकन गर्न पाइने भएकाले बाह्य पर्यटकहरू बढी मात्रामा आकर्Èित हुने गरेका छन् ।
सदरमुकाम बेसीसहरबाट एक घण्टामा पुग्न सकिने खासुर पनि पर्यटकको रोजाइमा पर्दछ । गुरुङ समुदायको बाहुल्य रहेको खासुरमा प्राकृतिक सुन्दरता, स्थानीय संस्कृतिसँगै कन्याहरूले सञ्चालन गरेको सामुदायिक खाजाघर विशेष आकर्षण रहेको छ ।
खासुरमा ३७ जना अविवाहित नारीको सक्रियतामा सामुदायिक खाजा घर सञ्चालन गरिएको छ । गाउँमा आएका पाहुनालाई सोही सामुदायिक खाजाघरमा लगेर नाचगानसहित स्वागत गर्ने गरिन्छ । अन्य कामका शिलशिलामा बेसीसहरसम्म आउने पनि होमस्टे अनुभवका लागि खासुर पुग्ने गर्दछन् ।
अन्नपूर्ण पदमार्गनजिकै पर्ने ताघ्रिङको छापामा पनि होमस्टे अनुभवका लागि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटक होटलको बसाइ छोडेर होमस्टे अनुभवका लागि गाउँ पस्ने गर्दछन् । “पदमार्गबाट होटल छोडेर २० मिनेट हिडेपछि होमस्टे गाउँ पुग्न सकिन्छ,” छापा गाउँकी होमस्टे सञ्चालिका आशकुमारी गुरुङले भनिन्, “होमस्टेको अनुभव लिन होटल छोडेर पर्यटक गाउँ आउने गरेका छन् ।”
गुरुङ बस्तीमा प्रवेश गर्ने पर्यटकले गुरुङ जातिको संस्कृति तथा रहनसहन अनुसारको खानपान तथा अन्य सेवा उपभोग गर्न पाउनेछन् । अर्गानिक तथा पूर्णरुपले स्थानीय उत्पादनका विभिन्न परिकारलाई पर्यटकले मन पराउने भएकाले यहा“का अधिकांश होमस्टे युरोप तथा अमेरिका लगायतका देशमा समेत प्रसिद्ध छन् ।
पछिल्लो समय लमजुङका होमस्टेले देश विदेशमा चर्चा पाउन थालेपछि अन्नपूर्ण पदमार्गमा आएका पर्यटक दिन लम्ब्याएर होमस्टे आउने गरेका छन् । होमस्टेमा आएका पर्यटक कोही एकैरात बसेर फर्किन्छन् भने कोही साता दिनसम्म पनि गाउँमै बस्ने गरेको सिउरुङ होमस्टेका सचिव उमरबहादुर गुरुङ बताउँछन् ।
यातायात सञ्चालन भएपछि अन्नपूर्ण पदमार्गको समय छोटिएकोले पनि पर्यटकलाई होमस्टेमा आएर दिन लम्ब्याउन सजिलो भएको पर्यटन व्यवसायीको बुझाइ छ । पदयात्रामा सवारी साधनबाट बाधाको अनुभव गर्ने पर्यटकलाई वैकल्पिक मार्गको रूपमा होमस्टे सञ्चालन भएका गाउँ उपयुक्त बाटो भएका छन् ।

सन्देश पौडेल