मनोरञ्जन शर्मा
सोमवार, बैशाख २, २०७६
506

लुम्बिनी भ्रमण वर्ष २०७६ आजबाट सुरु भएको छ ।

प्रदेश ५ सरकारले बुद्धजन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने लक्ष्यसहित २०७६ साललाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने घोषणा गत वर्षको बजेटमा गरेको थियो ।
घोषणा गरेअनुसार लुम्बिनी भ्रमण वर्षका रूपमा मनाउन विभिन्न कार्यक्रम आयोजना हुने भएका छन् ।
वैशाख १ गतेदेखि नै लुम्बिनी भ्रमण वर्षको औपचारिक सुरूवात हुने भए पनि यो कार्यक्रमको उद्घाटन वैशाख पूर्णिमाका दिन र समापन २०७७ सालको वैशाख पूर्णिमाका दिन गर्ने गरी कार्यक्रम बनाइएको छ । लुम्बिनी भ्रमण वर्ष वैशाख १ बाटै सुरु भए पनि यो कार्यक्रमको उद्घाटन जेठ ४ गते हुने भएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रको पर्यटकीय विकाससँगै यी क्षेत्रमा बढीभन्दा बढी विदेशी, स्वदेशी र भारतीय पर्यटक भित्र्याउनु नै लुम्बिनी भ्रमण वर्षको मुख्य उद्देश्य हो ।
लुम्बिनीका बारेमा प्रचार प्रसारमात्र नभई प्रवद्र्धनका विभिन्न कार्यक्रम र लुम्बिनीसहित अन्य बुद्ध जीवनीमा आधारित क्षेत्रको समेत एकीकृत विकासका लागि पहलसमेत लुम्बिनी भ्रमण वर्ष कार्यक्रममार्फत् हुने बुटवलमा आयोजित कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।
लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र प्रवद्र्धन गर्न भ्रमण वर्ष आयोजना हुने भएको हो ।
यो कार्यक्रमले बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार भई पर्यटक आगमन वृद्धि हुने अपेक्षा छ ।
सन् २०१८ मा लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्या पनि १ लाख ६९ हजारभन्दा बढी थियो । नेपाली पर्यटकको संख्या पनि १२ लाखको हारहारीमा थियो भने भारतीय पर्यटकको संख्या १ लाख ९२ हजार थियो ।
भ्रमण वर्षको समयमा विभिन्न आकर्षक कार्यक्रम तथा योजना ल्याएर पर्यटक आगमन संख्या गत वर्षभन्दा कम्तीमा पनि २० प्रतिशतले वृद्धि गराउन सकियो भने त्यो ठूलो सफलता मानिने छ । त्यसैले पनि यो कार्यक्रम सफल बनाउन प्रदेश सरकार मुख्य रूपमा लाग्नुपर्छ भने प्रदेश अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगै लुम्बिनी विकास कोष, पर्यटन सम्बद्ध सरोकारवाला निकाय, होटल तथा ट्राभल व्यवसायीमात्र होइन्, समस्त जिल्लावासीसमेत लाग्नु पर्नेछ ।
विश्वमानचित्रमा लुम्बिनीको अझै पनि राम्ररी प्रचारप्रसार हुन सकेको छैन । जसले गर्दा वार्षिक १ लाख ६० हजारको हाराहारीमा विदेशी पर्यटक लुम्बिनी आउने गरेका छन् । त्यसैगरी पोखरा र काठमाडौंको तुलनामा आन्तरिक र भारतीय पर्यटक पनि लुम्बिनी निकै कम पुग्ने गरेको तथ्यांक लुम्बिनी विकास कोषसँग छ ।
प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने निर्णयसँगै यहाँका निजी क्षेत्र पनि खुसी देखिएका छन् । अब प्रदेश सरकारले केन्द्रीय सरकारसँग मिलेर भारत र चिनमा लुम्बिनीको अधिक प्रचार गर्नुपर्ने देखिन्छ । लुम्बिनी भ्रमण वर्षमा भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सक्नु पर्दछ ।
केही वर्षदेखि चिनियाँ नागरिकको आर्थिक अवस्था विश्वमै मजबुत हुँदै गएको र चिनियाँहरूको भ्रमण गर्ने संस्कृति अहिले विश्वमै खर्चालु पर्यटकका रूपमा लिइन्छ । त्यसैले चिनियाँ पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन चीनमा प्रचार गर्न जरूरी छ । भारतीय पर्यटकलाई पनि लुम्बिनी गन्तब्य बनाउन प्रचारप्रसार गर्न आवश्यक रहेको नाट्टा नेपाल प्रदेश ५ का अध्यक्ष अध्यक्ष विष्णु शर्माले बताए । “वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउन हामी निजी क्षेत्र प्रदेश सरकारसँग सहकार्य गर्न तयार छांै,” शर्माले भने ।
वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने कार्यक्रम सरकारको मात्र नभई यो सबै जिल्लावासीको कार्यक्रमका रूपमा रहेकोले सबैले आ आप्mनो ठाउँबाट सहयोग गर्नुपर्ने सिद्धार्थ होटल एसोसिसयसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । “हामी भैरहवा, लुम्बिनीका होटल व्यवसायीको छाता संस्था सिद्धार्थ होटल एसोसियसन भ्रमण वर्षको कार्यक्रमलाई सफल पार्न र अन्तर्राष्ट्रियस्तरमा लुम्बिनी क्षेत्रको प्रचार गर्न हामी पनि लाग्छौ, प्रदेश र केन्द्र सरकारले हामीलाई सहयोग गर्नुपर्छ,” अध्यक्ष श्रेष्ठले भने । “राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा लुम्बिनी प्रवद्र्धन गर्ने यो सबैभन्दा उत्तम समय हो,” उनले भने ।
भ्रमण वर्षसँगै आन्तरिक र बाह्य पर्यटक बढीभन्दा बढी भित्रयाउन प्रचारप्रसारसँगै लुम्बिनीसहित तिलौराकोट, कुदान, देवदह, रामग्रामलगायत बौद्ध जीवनीमा आधारित क्षेत्रहरूको प्रवद्र्धन र ति स्थानमा पर्यटकहरूको सहज पहँुचका लागि यातायात साधन सञ्चालन र सडक पूर्वाधार मर्मत तथा निर्माण, पर्यटकीय सेवाका होटल रेस्टुराँ सञ्चालन र अन्य सेवासुविधा प्रदान गर्न पनि प्रदेश सरकारले सहकार्य गरी अघि बढ्न जरूरी रहेको श्रेष्ठको भनाइ छ ।
भ्रमण वर्षका अवसरमा होटल व्यवसायीहरूले लुम्बिनी, भैरहवा, बुटवल, तौलिहवा, रामग्रामलगायतका क्षेत्रमा सहुलियत दरको प्याकेज सार्वजनिक गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्नुपर्ने देखिन्छ ।
आफूहरू बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई लक्षित गरी विशेष प्याकेज तयार गरी सार्वजनिक गर्ने र धेरै पर्यटकलाई लुम्बिनीको बसाइ अवधि बढाउने योजना रहेको लुम्बिनीका पर्यटन ब्यवसायी तथा सिद्धार्थ होटल संघका उपाध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।
लुम्बिनीमा बासै नबस्ने पर्यटकको बसाइ अवधि बढाउने खालका गतिविधि गर्नु जरूरी रहेको र लुम्बिनी भ्रमणमा आउने जति पर्यटकलाई आतिथ्यता प्रदान गर्न आफूहरू तयार रहेको श्रेष्ठको भनाइ छ ।
प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमले आफूहरूमा थप ऊर्जा प्रदान गरेको र सो वर्ष लुम्बिनीको प्रवद्र्धन, विकास र प्रचारमा थप मात्रामा लाग्ने लुम्बिनी विकाश कोषका निमित्त सदस्य सचिब तथा योजना प्रमुख ईं. सरोजकुमार भटराईले बताए ।

यस्तो छ भ्रमण वर्षको कार्यक्रम
भ्रमण वर्षका माध्यमबाट लुम्बिनी र यस क्षेत्रको पर्यटकीय सम्पदाको खोज अन्वेषण गरी पर्यटनसम्बन्धी वातावरण निर्माणसँगै पर्यटकहरूको बसाइ अवधि कसरी लम्ब्याउने भन्नेतर्फ पनि बहस हुनेछ ।
लुम्बिनी भ्रमण वर्षको मूल समितिका अध्यक्षमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् भने कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी रहेका छन् । भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास मूल समितिको छ ।
तर औपचारीक रूपमा भ्रमण वर्षका कार्यक्रम सञ्चालनका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिने बताइएको छ । कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।
लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र संवद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए । उनले प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको बताउँदै पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महत्वपूर्ण हुने बताए । विश्व शान्तिको प्रतिक मानिने लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण क्षेत्र भएकाले विश्वका विभिन्न देशका पर्यटक वर्षेनी भ्रमण गर्न आउँछन् ।
भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह (पण्डितपुर), अरौराकोट, सगरहवा, सिसहनिया, अनोमानदी लगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम संचालन गरिनेछ । लुम्बिनी क्षेत्र तथा बुद्धपथसँग सम्बन्धित स्थानहरूको साथै बुद्धपथसँग नजोडिएका तर भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने छ ।
यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत सातवटै प्रदेश र भारतको खुसीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत सञ्चालन गरिने छ । भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फुलमुन डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ ।