अनुपमा खनाल
सोमवार, बैशाख २, २०७६
447

गोरखा-नयाँवर्षमा सार्वजनिक बिदा भए पनि खुला रहेको गोरखा संग्रहालयको १ हजार ४ सय ३२ जनाले अवलोकन गरेका छन् । दुई सय ६७ विद्यार्थी, १ हजार १ सय ६२ नेपाली र ३ विदेशीले संग्रहालय घुमेका हुन् । अघिल्ला वर्षहरुमा नयाँवर्षमा बन्द रहँदै आएको संग्रहालय यो वर्ष खुला गरिएको हो । नेपालीहरुको घुम्ने संस्कार बढ्दै गएकाले नयाँवर्ष मनाउन जिल्ला आइपुगेका पर्यटकलाई लक्षित गर्दै आज संग्रहालय खुल्ला गरिएको संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । तल्लो दरबारमा ०६५ सालमा स्थापना भएको संग्रहालय पहिलो पटक नयाँबर्षको दिन खुल्ला भएको हो । संग्रहालय प्रवेश शुल्कबाट ३२ हजार २० रुपैयाँ राजस्व संकलन भएको अधिकारीले जानकारी दिए । संग्रहालयले विद्यार्थीसँग १०, नेपालीसँग २५ र विदेशी सँग सय रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ ।
सार्वजनिक बिदाको दिनमा संग्रहालय घुम्न पाउँदा पर्यटकहरु खुसी भएका छन् । बुटवलबाट आएका कमल ज्ञवालीले संग्रहालय सधंै खुला राख्न सुझाव दिए । “हाम्रो टोली नयाँवर्ष मनाउन बुटवलबाट घुम्न आएका हौं,” उनले भने, “बिदा भए पनि यहाँ संग्रहालय खुला रहेछ । शाहवंशीय इतिहास अध्ययन गर्न पायौं, खुसी लागेको छ । यस्ता सांस्कृतिक सम्पदा सधैं खुला गर्ने वातावरण बनाउनु जरुरी छ ।”

नवलपरासीबाट आएका राजकुमार मुडवरीले संग्रहालयमा बिजुली व्यवस्थापनमा सुधार गर्न आग्रह गरे । “ग्यालरी घुम्दै थियौं बत्ती गयो,” उनले भने, “मोबाइल बालेर हेर्नुपर्ने अवस्था आयो, जेनेरेटर वा सोलारको व्यवस्था गर्नु जरुरी रहेछ ।” गोरखा राज्य र नेपाल एकीकरणका सन्दर्भ, युद्धमा प्रयोग गरिएका हतियार, पुराना भाडवर्तन, विभिन्न जातिका पहिचान झल्कने सामग्री, बाजा लगायतका सामग्री संग्रहालयमा राखिएको छ ।
तत्कालीन राजा राजेन्द्रबिक्रम शाहले छोरा सुरेन्द्रविक्रम शाहका लागि बनाइदिएको दरवारमै २०६५ सालदेखि संग्रहालय स्थापना गरिएको हो । परम्परागत नेपाली वास्तु शैलीबाट बनेको लगभग अन्तिम दरबार भएकाले सोसम्बन्धी अध्ययन गर्न चाहनेका लागि पनि गोरखा संग्रहालय गन्तव्य विन्दु बन्ने गरेको छ । यसबाहेक तत्कालीन गोरखा राज्यको स्थापनाको पृष्ठभूमि र ऐतिहासिक पक्षबारे जानकारी दिन चाहनेहरुले पनि गोरखा संग्रहालय भ्रमण गर्दै आएका छन् । संग्रहालयमा ऐतिहासिक पक्ष झल्कने १२ वटा कक्ष छन् । गोरखा संग्रहालय रहेको दरवार चार रोपनी क्षेत्रफलमा फैलिएको छ भने संग्रहालय परिसरको क्षेत्रफल भने ६८ रोपनी छ । सार्वजनिक बिदा बाहेक हरेक मंगलबार संग्रहालय बन्द हुने गरेको छ ।