प्रगति ढकाल
सोमवार, चैत्र ११, २०७५
574

मुख्य पर्यटकीय गन्तव्य हुन् हाम्रा हिमाल, जसले नेपालको पहिचान मात्रै दिलाएको छैन । लाखौं पर्यटकहरूको मन लोभ्याएको छ । र त सम्भव भएको हो पर्यटकीय विकास । यहाँका नदी नाला, कलकल बग्ने भरनाहरू नै किन नहुन् । जसले पर्यटकको मन लोभ्याइरहेको छ । अन्य प्राकृतिक स्रोतहरूमा पनि नेपाल धनी छ । यही प्राकृतिक विविधताले भरिपूर्ण भएर त नेपाल पर्यटकीय सम्भावना बोकेको मुलुकको रुपमा चिनिन्छ ।
नेपालको सपना छ । समृद्धि नेपाल अनि सुखी नेपाली । सुन्दा निकै मिठो सुनिने यो नारा जब कार्यन्वयन हुँदैन भने नारा केवल नारामा मात्रै सीमित हुन्छ । यो नारा पूरा गर्न मुलुक आर्थिक रुपमा समृद्ध बन्नुपर्छ । आर्थिक स्रोत बढाउने उपायहरू मध्ये पर्यटकीय विकास हो । जहाँ पर्यटक आउँछन् त्यहाँ मात्रै आर्थिक समृद्धि हुन सक्छ । पर्यटन व्यवसायहरू फस्टाउन सक्छ ।

तर खाँचो छ पर्यटकीय गन्तव्यहरू संरक्षण र व्यवस्थापनको । कला संस्कृती र प्राकृतिक विविधताहरू नै हुन् पर्यटकीय विकासका दरिला खम्बाहरू । गौतम बुद्धको जन्मस्थान लुम्बीनी होस्, सगरमाथाले होस् तथा अन्य धार्मिक सामाजिक स्थान, रितिरिवाजले पर्यटकहरूलाई आकर्षित गरेका छन् । सेता हिमालहरू हाम्रा पहिचान हुन् । जुन हिमालले पर्यटकहरू तानिरहेको छ । बिडम्बना यो छ कि, हिउँ पग्लँदै गएको छ । जलवायु परिवर्तनका कारण हिउँले ढाक्दैन हिमाललाई । विगतमा बाक्लो र सेतो हिउँले ढाक्ने हिमालहरू बिस्तारै काला पत्थरमा परिणत हुँदै छ ।
अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको ‘द हिन्दूकुश हिमालय एसेस्मेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ अनुसार विश्वमा अहिलेकै अवस्थामा हरित गृह ग्यास उत्सर्जन भइरहने हो भने सन् २१०० सम्म हिन्दूकुश हिमालयको दुई तिहाइ हिउँ पग्लने छ । शताब्दीको अन्त्यतिर विश्वको औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियस पुग्ने हो भने पनि यस क्षेत्रको एक तिहाइ हिउँ पग्लने प्रतिवेदनमा उल्लेख छ । चिन्ताको विषय यो छ की, जलवायु परिवर्तनका कारण हाम्रा हिमालका हिउँ पग्लँदै जाने हो भने कालान्तरमा के होला ? पर्यटकहरूलाई हिउँ नभएको हिमालले आकर्षित गर्ला त ? सम्भावना कम हुन सक्छ ।
जलवायुका परिवर्तनकै कारण हिमतालहरू जोखिममा छन् । प्राकृतिक सौन्दर्य नास हुँदै गएको छ । अतिवृष्टि तथा अनावृष्टिका समस्याले कहिले खडेरी त कहिले बढी वर्षा हुने क्रम बढ्न सक्छ । बाढी पहिरोले यातायात अवरुद्ध हुन सक्छ । जसले पर्यटकहरू यत्रतत्र जान सक्दैनन् । खडेरीले पानीका स्रोतहरू सुक्दै गएका छन् । जसले गर्दा कैयौ सुन्दर बस्तीहरू खाली हुन थालेका छन् । जुन पर्यटकीय बस्ती बन्न सक्थे । जलवायु परिवर्तनका कारण प्राकृतिक स्रोतहरू नास हुन सक्छ । जसले गर्दा भावी दिनमा प्राकृतिक सौन्दर्यता नै नास हुने भने पर्यटकीय विकास पनि सम्भव छैन ।
समयमा नै सबै क्षेत्र सचेत हुन आवश्यक देखिन्छ । पर्यटकीय गन्तव्यहरू जलवायुमैत्री बनाउने नयाँ नीति लिएको छ सरकारले । वन तथा वातावरण मन्त्रालयले तयार गरेको जलवायु परिवर्तन सम्बन्धि नीतिको प्रस्तावित मौस्यादामा जलवायु सम्बन्धि पर्यटकीय क्षेत्रलाई जलवायुमैत्री बनाउने उल्लेख गरिएको छ ।
“कमजोर भौगोलिक वनावट, संवेदनशील पारिस्थितकीय प्रणालीहरू, धरातलीय विविधता, उचाइ र मोहडाहरू, विविध प्रकारको जलवायु तथा सुक्ष्म जलवायु क्षेत्रहरूका कारण नेपाल जलवायु परिवर्तनको असरप्रति अति संवेदनशील छ,” मस्यौदामा भनिएको छ, “विश्वको अग्लो शिखर सगरमाथा सहित पूर्वदेखि पश्चिमसम्म फैलेका हिमश्रृंखला र तिनै हिमश्रृंखलाबाट उत्पति भई उत्तरदेखि दक्षिण बग्ने हिमनदीहरूले नेपालको जैविक विविधता र पहाडी परिस्थितिकीय प्रणालीलाई मात्र होइन समग्र नेपालीको जीवनलाई नै जीवन्त राख्दै आएका छन् तर नेपालका हिमशिखर, हिमनदी, जैविक विविधता र पहाडी पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनको चपेटमा परेको छ ।”
मन्त्रालय अन्र्तगत जलवायु परिवर्तन व्यवस्थापन माहाशाखा प्रमुख डा. महेश्वर ढकालले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रलाई जलवायुमैत्री बनाउँदै हरित आर्थिक विकासका अवसरहरू अभिवृद्धि गर्ने नीतिको उद्देश्य रहेको बताए । “जलवायुका परिवर्तनका कारण हाम्रा हिमालका हिउँहरू पग्लदै जान थालेका छन्, यदी जलवायु परिवर्तन गराउने तत्व हरितगृह ग्यास उत्सर्जन कटौती नगर्ने हो भने अझै जलवायुको प्रभाव बढी हुन सक्छ,” उनी भन्छन्, “जलवायु परिवर्तनको असर कसरी न्यूनिकरण गर्ने ? कसरी जलवायु परिवर्तनको असरबाट पर्यटकीय गन्तव्यहरू सुरक्षित राख्ने भनेर नीति बनाएका हौं । पर्यापर्यटनको विकास गर्न सबैको सहकार्यमा पर्यटकीय क्षेत्रलाई जलवायुमैत्री बनाउन आवश्यक छ ।”
ढकालले जलवायु परिवर्तनका कारण अतिवृष्टि अनावृष्टि, खडेरी, सुक्खा, खाद्य असुरक्षा, बाढी, पहिरो, लगायतका समस्याहरू बढेको बताए । “नदी, हिम पहिरो, सिमसार र संवेदनशील पारिस्थीतिकिय प्रणालीहरूमा पर्ने जोखिमको नियमित अनुगमन र वैज्ञानिक विश्लेषण गर्ने, जल, स्थल र वायु प्रदूषणबाट सिर्जित कालो कार्वन एवं अन्य हरित गृह ग्यास उत्सर्जन न्यूनिकरण गर्ने प्रविधिको विकास गर्ने नीति लिएका छौ,” ढकालले भने, “आवधिक रुपमा हरितगृह ग्यास उत्सर्जनका स्रोतहरू पहिचान गर्दै तिनीहरूबाट हुने उत्सर्जनको मापन र उत्सर्जन न्यूनिकरण कार्यको अनुगमन तथा मूल्याङ्कन गरिने छ, जसले गर्दा जलवायुका असरहरू कम हुने छ ।”
जलवायु परिवर्तनले निम्तने प्राकृतिक प्रकोपका कारण बर्षेनी थुप्रै धनजनको क्षति भएको, मानवीय स्वास्थ्यमा प्रतिकूल असर पुगेको छ, कृषि ह्रास आएको छ, हाइड्रोपावरको लगानी जोखिममा छन् ।
जलवायु परिवर्तन राजु क्षेत्रीले पनि जलवायु परिवर्तनको समस्या यथावत् रहने हो भने हिमालको हिउँ पग्लदै जाने खतरा रहेको बताए । “हिमालले नेपालको पहिचान समेत दिएको छ, हिमालमा हिउँ नै भएन भने पर्यटकहरू पनि नआउन सक्छन् ?” उनी भन्छन्, “समृद्ध मुलुक बन्नका लागि पर्यापर्यटन विकास आवश्यक छ, पर्यटक बढाउन पर्यटकीय गन्तव्यहरू पनि संरक्षण हुनुपर्छ र जलवायुमैत्री पर्यटकीय विकास आवश्यक छ ।”
मौस्यादा अनुसार सन् १९७४–२०१४ मा नेपालको तापक्रम औसत ०.५६ डिग्री सेल्सियसले बढेको देखिन्छ । “प्रक्षेपणहरूले देखाए अनुसार भविष्यमा औसत तापक्रम पनि सन् २०१६–२०४५ मा ०.९२–१.०७ र सन् २०३६–२०६५ मा १.३–१.८२ डिग्री सेल्सियसले बढ्ने अनुमान छ,” मस्यौदामा उल्लेख गरिएको छ, “शताब्दीको अन्त्य सम्ममा, वर्षा औसत ११–२३ प्रतिशत र औसत तापक्रम १.७२–३.५८ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान गरिएको छ । ”

सरकारी नीति
पर्यापर्यटन, हरित पैदल मार्ग र पर्यटन गन्तव्यहरूको विविधिकरण जस्ता जलवायुमैत्री पर्यटनका अवधारणाहरूलाई पर्यटन क्षेत्रको विकासमा मूल प्रवाहिकरण गर्ने ।
पर्यटकीय क्षेत्रहरूमा नविकरणीय ऊर्जा र ऊर्जा किफायती प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने ।
पर्यटन व्यवसायलाई भरपर्दो र सुरक्षित बनाउन मौसम मापन केन्द्रहरूको विस्तार गर्दै मौसम सम्बन्धि सूचना प्रवाहलाई व्यवस्थित गर्ने ।
जलवायु परिवर्तनको प्रतिकूल प्रभावको जोखिममा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको पहिचान गरी त्यस्ता क्षेत्रहरूको संरक्षण र व्यवस्थापन गर्ने ।
उत्थानशील समाजको निर्माणका लागि विपद् सुरक्षित संस्कृतिको विकास गर्न मापदण्डहरू निर्माण गर्ने ।
निजी क्षेत्र र समुदायलाई जलवायु मैत्री पर्यटनमाप्रोत्साहन गर्ने ।