सागर परियार
सोमवार, माघ २८, २०७५
753

जुम्ला - नेपाल सरकारले हालै सार्वजनिक गरेको सय पर्यटन गन्तव्यभित्र कर्णालीको प्रसिद्ध धार्मिक पर्यटन क्षेत्र चन्दननाथ मन्दिर परेन । जसको कर्णालीमा महत्व निकै छ । बाबा चन्दननाथ र बटुक भैरवनाथको मन्दिर कर्णालीको धार्मिक पर्यटनको एक ऐतिहासिक प्रतिबिम्ब हो ।
सय पर्यटन गन्तव्यमा चन्दननाथ मन्दिर नपरेपछि जुम्लाका स्थानीयले व्यापक गुनासो गरेका छन् । चन्ददनाथजस्तो कर्णालीको प्रमुख धार्मिक पर्यटन सम्भावना बोकेको क्षेत्र संघदेखि प्रदेश तथा स्थनीय सरकारको नजरमा पर्न नसक्नु दुखद् पक्ष भएको चन्दनाथ गुठी व्यवस्थापन समितिका सचिव रमानन्द आचार्यले बताए ।

सरकारी सूचीमा नपरेपनि कर्णालीको एकमात्र धार्मिक पर्यटनको धरोहर चन्दननाथ मन्दिर पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । पछिल्लो समय कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको पनि घुइँचो लाग्ने गरेको छ । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसँगै राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गरेर फर्कने पर्यटकहरू बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्म १० हजार पर्यटकले चन्दनाथ मन्दिर दर्शन गरेका छन् ।
चन्दननाथ गुठी समितिको तथ्यांक अनुसार आन्तरिक तथा बाह्य गरेर १० हजार पर्यटक यहाँ आइपुगेका हुन् । दैनिक करिब डेढ सय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पछिल्लो समय पर्यटक बढ्दै गएपछि मन्दिरले पनि उनीहरूको रेकर्ड राख्ने गरेको छ ।
रारा पर्यटन वर्ष घोषणापश्चात् मन्दिरमा पर्यटकको आगमन बढेको चन्दननाथ गुठी समितिका खरिदार रत्नप्रसाद आचार्यले बताए ।
चन्दननाथ मन्दिर अवलोकन गर्न आउने पर्यटक त्यसको ऐतिहासिक महत्व बुझ्न रुचाउँछन् । १४ सय वर्ष पुरानो ऐतिहासिक मन्दिर तथा जुम्लाको मनोरम दृष्य अवलोकन गर्न पर्यटक रमाउँछन् । मन्दिरको महत्वका बारेमा जान्न चाहने पर्यटकलाई जानकारी दिने व्यवस्थासमेत समितिले मिलाएको छ ।
चन्दननाथ मन्दिरको इतिहास विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादनसँग जोडिएकोले पनि यस क्षेत्रमा पर्यटक आएर अति नै चासोको रुपमा अवलोकन गर्ने गरेका छन् । दैलेखको महावै जगन्नाथबाट ल्याएको दियो जहिले पनि बलिरहेको हुन्छ । यदि त्यो दियो निभ्यो भने अनिष्ट हुने विश्वास छ । अहिलेसम्म निभेको पनि छैन ।
पर्यटक आगमनको संख्या बढेपनि भेटी चढाउने क्रम भने बढेको छैन । पर्यटकले चढाएको भेटी चालू आर्थिक वर्षमा १ लाख ६ हजार ८ सय ७० रुपैयाँ संकलन भएको खरिदार आचार्यले बताए । राजस्व संकलन तथा मन्दिरको व्यवस्थापनलाई मजबुत बनाएर अघि बढ्ने सोचमा समिति रहेको छ ।