कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
622

काठमाडौं-पछिल्लो समय वातावरणीय क्षेत्रमा बढ्दै गइरहेको विनासका कारण पर्यटकीय क्षेत्रमा असर पुग्ने भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । वातावरणीय विनासका कारण प्राकृतिक सौन्दर्यमा ह्रास तथा नदी संरक्षणमा चुनौती, जलवायु परिवर्तन लगायतका समस्याका कारण पर्यटन विकासका सम्भावनामा बाधा आउन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।
¥याफटिङका लागि राम्रो मानिएको सुनकोसी नदी तथा भोटेकोसी नदीमा बर्सेनि पर्यटकको भीड लाग्ने गर्दछ । तर सुनकोसी तथा भोटेकोसी नदी आसपासमा पर्यटन व्यवसाय गर्दै आइरहेका व्यवसायी वातावरणीय विनासले पर्यटकीय क्षेत्रको विकासमा असर पु¥याउने भन्दै चिन्ता व्यक्त गरेका हुन् । सिन्धु पर्यटन व्यवसायी संघले वातावरणीय विनासले पर्यटकीय क्षेत्रमा पारिरहेको असरको विषयमा सरकारलाई ध्यानाकर्षण गराउन अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । वातावरणीय विनासको अवलोकन गराएपछि संघले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा पर्यटकीय क्षेत्रमा वातावरण विनासले पु¥याएको असरको विषयमा छलफल गर्नेछ ।
नेपाल नदी संरक्षण संघको अध्यक्ष तथा सुनकोसी बिजका निर्देशक मेघ आलेले वातावरणीय विनासका कारण हुनसक्ने पर्यटकीय क्षेत्रको असरलाई समयमा नै रोक्न आवश्यक रहेको बताए । “वातावरणीय विनासले जलावायु परिवर्तन गराएको छ, हिमालका हिउँ पगालेको छ, प्राकृतिक सुन्दरतामा ह्रास आएको छ, नदी संरक्षण हुन सकेको छैन,” उनले भने, “यस्ता समस्या बढ्दै गए भने आगामी दिनमा पर्यटकको संख्या घट्नसक्छ, समयमा नै सचेत हुनु आवश्यक छ ।”