केदार दाहाल
बुधवार, पुष २५, २०७५
744

सन् २०१८ मा नेपाल आउने पर्यटकमध्ये भारतीय र चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०१८ मा २०१८ मा २ लाख ४ सय ३८ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् भने चिनियाँ पर्यटकको संख्यामा पनि १ लाख ५३ हजार ६ सय २ पुगेको छ ।
सन् २०१८ मा हवाई र स्थलमार्गबाट आउने पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गर्र्दा चिनियाँ र भारती पर्यटकको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । सन् २०१८ मा गत वर्षभन्दा २४.८ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ ।

सन् २०१७ मा १ लाख ६० हजार २ सय ६८ भातीय पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसरी हेर्दा भारतीय पर्यटकको संख्या २५.१ प्रतिशतले वृद्धि देखिएको छ भने चिनियाँ पर्यटकको संख्यामा ४६.८ प्रतिशतले वृद्धि देखिएको छ ।
पछिल्ला दुई वर्ष चिनियाँ पर्यटकको संख्यामा खासै उतार चढाव देखिएको थिएन । सन् २०१६ मा १ लाख ४ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०१६ मा १ लाख १८ हजार २ सय ४९ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१५ मा ७४ हजार ८ सय १४ भारतीयले नेपाल भ्रमण गरेका थिए ।
“हामीले सोचेअनुसार भारतीय पर्यटक कम्तीमा ५ लाख र चिनियाँ पर्यटक कम्तीमा २ लाख आउनु पर्ने हो तर पनि ल्याउन सकेका छैनौ,” होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले भने । नेपालले पर्यटनमा छलाङ मार्ने हो भने दुई देशबाटै पर्यटक धेरै भन्दा धेरै भित्र्याउन पहल गर्नुको विकल्प नभएको शाह बताउँछन् । विगतमा भारतीय नाकाबन्दीका कारण भारतीय पर्यटक बजारमा नेपालबारे नकारात्मक प्रचार हँुदा उल्लेख्य रूपमा वृद्धि नभएको र सन् २०१८ बाट केही सुधार भएको देखिएको शाह बताउँछन् ।
यता नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशी पनि नेपालको पूरै ध्यान भारतीय र चिनियाँ बजारमै केन्द्रित भएको बताए । सन् २०१९ मा पनि भारत र चीनमा प्रवद्र्धनका धेरै कार्यक्रम तय भएको सीईओ जोशीले बताए ।
नेपाल भ्रमणमा आउने तेस्रो ठूलो देश भनेको अमेरिका हो । अमेरिकाबाट सन् २०१८ मा ९१ हजार ७ सय ८५ ले नेपाल भ्रमण गरेका छन् । गत वर्ष अमेरिकाबाट ७९ हजार १ सय ४६ अमेरिकीले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी चौथोमा श्रीलंका छ । श्रीलंकाबाट सन् २०१८ मा ७० हजार ६ सय १० पर्यटकले नेपाल भ्रमण गरेका छन् भने पाँचौमा बेलायत छ । बेलायतबाट सन् २०१८ मा ६३ हजार ८६ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

वर्ष  भारतीय  चिनियाँ
सन् २०१५  ७४,८१४  ६६,९८४
सन् २०१६  १,१८,२४९  १,०४,००५
सन् २०१७  १,६०,८३२  १,०४,६६४
सन् २०१८  २,००,४३८  १,५३,६०२