कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
377

पाल्पा -पर्यटकीय नगरी पोखरा र पाल्पालाई आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्ने भन्दै पाल्पा पोखरा पर्यटक बस सेवा संचालनमा आएको छ । शिक्षा स्वास्थ्य र पर्यटक उद्योगको विकासको नारा बोकेको पाल्पा र पोखरालाई जोड्न बस सेवाले सहयोग पुग्ने छ ।
बस सेवाको विहिवार तानसेन नगर प्रमुख अशोक कुमार शाहीले उद्घाटन गरे । पाल्पाको आन्तरिक तथा बाह्य पर्यटन विकासमा बस सेवाले सहयोग गर्ने शाहीले बताए । उनले पर्यटकीय नगरीको रुपमा रहेको पोखराको पर्यटक पाल्पा र पाल्पाका पर्यटक पोखरा लैजान ल्याउनमा बसले सहयोग गर्ने बताए ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पाल्पा पोखरा पर्यटकीय बस सञ्चालनले तानसेनको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सेवा गरेर सन्तुष्टी लिने पोखरामा बस्ने पाल्पालीले झैं सबै क्षेत्रमा बस्नेले जन्मथलो संझेर यस्तो रचनात्मककार्य गरुन् भन्ने कामना गरे ।
पाल्पाली समाज पोखराको पहल र तानसेन नगरपालिकाको समन्वयमा सन्जोग ट्राभल्सले पाल्पा–पोखरा पर्यटकीय बस सञ्चालन गरेको हो । पर्यटकका लागि पाल्पा पोखरा प्रतिव्यक्ति ६ सय रुपैंया भाडा दरमा पर्यटकीय बस चलाउने निर्णय अनुसार बस दुबैतिरबाट विहान ८ बजे छुट्ने पाल्पाली सेवा समाज पोखराले जनाएको छ ।
पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले जनप्रतिनिधिले काम गरेनन् भनेर टिप्पणी गर्नुभन्दा सबैले निस्वार्थ र सेवा भावनाले जिल्लाको विकासमा काम गर्नुपर्ने बताए । उनले पाल्पा पोखरा बसले पाल्पा र पोखरालाई आर्थिक र सामाजिक विकासमा जोड्ने बताए ।
अध्यक्ष घिमिरेले जिल्लाको विकासमा जिल्ला बाहिर बस्ने पाल्पालीको यो संझनाहो भनेर बुझ्न आग्रह गर्नुभयो । प्रत्येक यात्रीलाई १ बोत्तलपानी, बदामसहितको सेवा दिने तानसेन नगरपालिका र सन्जोग ट्राभल्सबीच सहमती भएको छ, बस सेवा संचालनको क्रममा ट्राभल्सका व्यवस्थापक बसन्त बासकोटाले बताए ।
३१ सिट भएको वातानुकुलित डिलक्स बसले पर्यटकको मन रोज्ने छ । उहाँले गाडी बीच–बीचमा नरोकिने, दक्ष चालक र परिचालकले सेवा दिने जानकारी दिए ।
कार्यक्रममा राजनीतिक दल, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, नागरिक समाजले बस निरन्तर हुनुपर्ने र स्तरीय सेवाहुनुपर्ने विचार व्यक्त गरेका छन् ।
कार्यक्रम तानसेन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाको सञ्चालन र नगर प्रमुख अशोककुमार शाहीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।