केदार दाहाल
बुधवार, आश्विन २४, २०७५
3180

काठमाडौं-बुद्ध एयरलाई नेपालगन्ज–दिल्ली उडान अनुमति दिन भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले अस्वीकार गरेको छ । बुद्ध एयरले एटीआर–७२ जहाजमार्फत नेपालगन्ज–दिल्ली दैनिक तीन उडान गर्ने घोषणा गर्दै अनुमतिका लागि उक्त विमानस्थलमा निवेदन दिएको थियो ।
इन्दिरा गान्धी विमानस्थलको व्यवस्थापन गर्दै आएको जीएमआर कम्पनीले तत्काल कुनै पनि स्लट खाली नरहेको भन्दै दिन नसकिने आशयको जवाफ नेपाली पक्षलाई दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । हाल बनारसमा साताको तीन उडान गर्दै आएको बुद्धले अन्तर्राष्ट्रिय उडानमा अब आक्रामक रणनीतिका साथ अगाडि बढ्ने भन्दै नेपालगन्ज–दिल्ली उडान गर्ने घोषणा गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने नेपालगन्ज–दिल्ली उडानको सहमति दिँदै नेपालगन्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विस्तार गर्ने प्रक्रिया अगाडि बढाएको थियो । केही महिनाअघि मन्त्री रवीन्द्र अधिकारीले बिराटनगर, नेपालगन्ज र धनगढीबाट सीधा दिल्ली उडानको लागि प्रक्रिया अगाडि बढेको र सोहीअनुसार विमानस्थलको सुधार गर्न निर्देशन दिएका थिए ।
मन्त्रीले घोषणा गरेको ७२ घन्टा पनि बित्न नपाउँदै बुद्ध एयरले नेपालगन्ज–दिल्ली उडान थाल्ने घोषणा गरेको थियो । उक्त रुटमा सिधा उडान गर्न सकेमा मानसरोवर जाने भारतीय तीर्थयात्रीहरू सिधै नेपालगन्ज ल्याउने तयारी बुद्धको थियो ।
२२ वर्षअघि स्थापना भएको बुद्ध एयरले आन्तरिक उडानमा राम्रो सेवा दिदैं आएको छ । चार वर्षअघि अन्तर्राष्ट्रिय उडानको अनुमति लिएर बनारस उडान सुरु गरेको बुद्धले अव भने आक्रमक रूपमा अन्तर्राष्ट्रिय उडान थाल्ने घोषणा गरेको थियो । बुद्धसँग हाल १० वटा विमान छन् । जसमा एटीआर ७२–५०० सिरिजका ५ थान, एटीआर ४२–३०० सिरिजका ३ थान र १८ सिट क्षमतका बिचक्राफ्ट २ थान रहेका छन् ।
विगत २ वर्षदेखि काठमाडौं–दिल्ली उडान गर्ने प्रक्रिया अगाडि बढाएको हिमालय एयरलाइन्सलाई पनि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले अनुमति दिएको छैन । भारतबाट जेट एयरवेज, इन्डिगो र एयर इन्डियाले दर्जनांै उडान गरिरहँदा नेपालका तर्फबाट नेपाल वायुसेवा निगमले मात्रै उडान अनुमति पाएको छ । भारतीय गो एयर पनि नेपालमा उडान गर्ने तयारीमा छ ।
नेपाल र भारतबीचको हवाई सम्झौतामा सातामा ३० हजार सिटसम्म उपयोग गर्न पाउने उल्लेख छ । नेपाल वायुसेवा निगमले हाल मुस्किलले २ हजार सिटको मात्रै उपयोग गरिरहेको छ भने भारतीय एयरलाइन्सले भने ८ हजार भन्दा बढी सिटको उपयोग गरिरहेका छन् ।