कारोबार संवाददाता
सोमवार, पुष १७, २०७४
685

नेपालमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सन् २०१७ मा पूरा हुन लागेको बताउँदै आगामी दिनमा पूर्वाधार र प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताएका छन् ।
नेपाल पर्यटनको स्थापना भएको १९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले भारत र चीननै प्रवद्र्धनका लागि मुख्य ध्यान दिनुपर्नेमा जोड दिएका छन् । “नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा स्थापना गरिएको बोर्डले निजी क्षेत्रसँग मिलेर प्रवद्र्धनमै कार्यक्रम केन्द्रित हुन आवश्यक छ,” सचिव न्यौपानेले भने ।

नेपाल पर्यटन सन् १९९९ मा स्थापना गरिएको थियो । तत्कालीन पर्यटन विभागलाई खारेज गर्दै नेपाल पर्यटन बोर्डको स्थापना गरिएको थियो । आइतबार आयोजना गरिएको कार्यक्रम बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् २०१७ मा पर्यटक आगमन उत्साहजनक रूपमा वृद्धि भएको उल्लेख गर्दै आगामी दिनमा निजी क्षेत्रको सहकार्यमा प्रवद्र्धनका कार्यक्रमा केन्द्रित गर्ने बताए । सन् २०१७ मा हिमालय ट्राभल मार्ट, युरोप भ्रमण वर्षलगायत कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको समेत जोशीले बताए । बोर्ड स्थापना भएको केही वर्षमानै द्वन्द्व सुरु भएपछि पर्यटन क्षेत्र चपेटामा परेको बताउँदै जोशीले सन् २०११ मा के काम भए पनि पछि भूकम्प पुनः पर्यटन थला परेको बताए ।
सन् २०१७ मा आएर पर्यटक आगमनदर बढ्नु सकारात्मक भएको बताए । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्माले पर्यटन बोर्डको स्थापनाको मर्म अनुसार सहयोग गरिरहेको उल्लेख गर्दै व्यवस्थापनले कर्मचारीको वृद्धि विकासमा सहयोग गर्नुपर्ने बताए ।
यसैबीच नेपाल पर्यटन बोर्डले एक्सपिरेन्स नेपाल कार्यक्रम सार्वजनिक गरिएको छ । जसमा नेपाली खानाका २९ प्रकारलाई विश्वभर प्रचार गरिने कार्यक्रमा उल्लेद गरिएको छ । कार्यक्रमको संयोजक दिपेश साक्यलाई संयोजक तोकिएको छ ।