कारोबार संवाददाता
आइतवार, भदौ ३१, २०७५
3641

सरकारले निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई एशिया प्रशान्त क्षेत्रको ‘हब’ विमानस्थलका रुपमा विकास गर्ने योजना रहेको जनाएको छ । यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल वार्षिक ६ करोड यात्रुको चाप धान्ने गरी विमानस्थल निर्माण गर्न लागिएको सरकारले जनाएको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विमानस्थल निर्माणका लागि चर्चिएको ८ हजार हेक्टर जमीनमध्ये पहिलो चरणमा २ हजार ५ सय ९३ हेक्टरमात्रै जमीन उपयोग गरिनेछ भने यसका लागि १ लाख ९४ हजार ४ सय ८० रुख काट्नुपर्नेछ ।
हात्तीलगायत जंगली जनावरको जैविक मार्ग विनाश हुने, पानीको मुहान सुक्ने तथा वातावरणीय रुपमा ठूलो जोखिम पर्ने भन्दै आयोजनाको विपक्षमा आवाज उठ्न थालेपछि सरकारले यथार्थ विवरण सार्वजनिक गरेको हो । सरकारले भने विद्यमान ऐन, नियम तथा कानूनको परिधिमा रही रुख काट्ने र वातावरण संरक्षणलाई विशेष प्राथमिकतामा राख्ने तथा एउटा रुख काटेपछि २५ वटा रुख रोप्ने योजना बनाएको जनाएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सरकारले ग्रिनरी एयरपोर्टका रुपमा यसलाई विकास गर्न चाहेको बताइएको छ ।