‘खेलकुदमा लगानी बढ्छ’
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
345

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेल क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा आइतबारदेखि दमौलीमा सुरु १०औं राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेल क्षेत्रले राष्ट्रको शान र पहिचान बढाउन सहयोग गरेको भन्दै आगामी बजेटमा खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिने बताए । “देशको प्रतिष्ठा माथि उठाउन खेल क्षेत्र एउटा महत्वपूर्ण माध्यम हो,” मन्त्री विश्वकर्माले भने, “देशलाई चाहिने राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि पनि खेलकुदमा पर्याप्त बजेट आवश्यक छ ।”
खेल क्षेत्रको विकासका लागि स्थानीय तह, निजी क्षेत्रका साथै सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिँदै मन्त्री विश्वकर्माले अनुत्पादक क्षेत्रमा भन्दा अबको लगानी खेल क्षेत्रमा हुनुपर्ने समेत बताए । हरेक वडा र टोलहरूमा खेलमैदान निर्माण गरिने समेत मन्त्री विश्वकर्माको भनाइ थियो ।
विगतमा राज्यको सीमित स्रोत साधनका कारण खेल क्षेत्रले सोचे जति गति लिन नसकेको स्मरण गर्दै उनले भने, “नेपालको खेल क्षेत्र विकासको बाटोमा अघि बढिरहेको छ, धेरै गर्न बाँकी छ ।” खेलाडीलाई खेल क्षेत्रमा आकर्षित गर्न र खेल क्षेत्रबाटै आफ्नो भविष्य सुरक्षित छ भन्ने अवस्था सिर्जना गर्न सरकार लागिपरेको मन्त्री विश्वकर्माले बताए ।
धेरैभन्दा धेरै प्रतियोगिता आयोजना हुनसके मात्रै खेलाडीको प्रतिभा बढ्ने चर्चा गर्दै मन्त्री विश्वकर्माले जिल्लास्तरमा हुने यस्ता प्रतियोगिताको सराहनासमेत गरे । शारीरिक र मानसिक अवस्था स्वस्थ नभएसम्म राष्ट्र समृद्ध बन्न नसक्ने भन्दै मन्त्री विश्वकर्माले सुखी नेपाली, समृद्ध नेपाल अभियानलाई सफल पार्न पनि खेल क्षेत्रको विकास आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा तनहँु निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले जिल्लामा व्यवस्थित रंगशाला नहुँदा खेल सञ्चालनमा कठिनाइ हुँदै आएको भन्दै व्यवस्थित रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्रीलाई ध्यानाकर्षण गराए । शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउन सके खेलकुदको विकास सम्भव रहेको भन्दै उनले यसका लागि हरेक विद्यालयमा खेलकुद पूर्वाधार निर्माणको आवश्यकतामा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलकुदमा पर्याप्त बजेट भएमात्रै खेल क्षेत्रको विकास सम्भव रहेको बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेल क्षेत्रको विकासका लागि नगरपालिका सदैव तयार रहेको प्रतिबद्धता जनाए ।
प्रतियोगितामा जिल्लाभरका ५० वटा विद्यालयका विद्यार्थी सहभागी छन् । प्रतियोगितामा कँराते, तेक्वान्दो, कबड्डी, भलिबल, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, रनिङलगायतका खेल सञ्चालन हुने खेलकुद विकास समितिका उपाध्यक्ष मनिराज मगरले जानकारी दिए ।