कारोबार संवाददाता
बिहिवार, श्रावण १, २०७७
473

विराटनगर-प्रदेश–१ सरकारले तेह्रौं दक्षिण एसियाली खेलकुदका पदक विजेता प्रदेशभरिका खेलाडीहरूलाई पुरस्कृत गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजितत कार्यक्रमकाबीच खेलाडीहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको हो । कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरले विजयी खेलाडीहरूलाई सम्मान गरे । सो अवसरमा स्वर्ण पदक विजेता खेलाडीलाई नगद ३ लाख, रजत विजेतालाई नगद २ लाख र कास्य पदक विजेता खेलाडीलाई नगद १ लाखसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

२०७६ मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरिएको सागमा प्रदेश–१ बाट ९८ जना विजयी भएका थिए । जसमध्ये १० जना दोहोरिएरसमेत पदक प्राप्त गरेका कारण बुधबारको कार्यक्रममा ८० जनालाई पुरस्कृत गरिएको हो । सो अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले खेलाडीहरूलाई प्रदान गरिने रकम यसअघि नै उनीहरूको खातामा पठाइसकिएको बताए । प्रदेश सरकारको मन्त्रिपरिषद्ले सागमा विजयी खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई प्रदेश–१ सरकारले उच्च प्राथमिकता दिएको बताए । “खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ,” मुख्यमन्त्री राईले भने, “हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं ।” खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको मुख्यमन्त्री राईको भनाइ थियो ।
उनले साग प्रतियोगितमा प्रदेश–१ को तर्फबाट विजेता खेलाडीहरूले देशको साथै प्रदेशको शान बढाएको बताए । प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको उनले उल्लेख गरे । उनले भने, “खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरू विनियोजन गरिएको छ ।”
कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले खेलकुदलाई पेशाको रुपमा लिनुपर्ने धारणा राखे । साग पदक विजेता खेलाडीहरूका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जीविकोपार्जनको माध्यम रुपमा समेत लिनुपर्नेमा जोड दिए ।