दीननाथ बराल
आइतवार, जेठ ४, २०७७
509

पोखरा फुटबल स्टेडिएमको ८५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।
पोखरा फुटबल स्टेडिएमको हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले बताए । कोरोना भाइरसका कारण देशमा लकडाउन भएको करिब दुई महिना पुग्नै लाग्दा रंगशालामा निर्माणकार्य समेत जारी रहेको उनले जनाए । पोखरा फुटबल स्टेडिएमभित्र रहेका १८ वटा शौचालय र सेफ्टी टयांकीसहितको फिनिसिङ तर्फको काम गर्न हाल दैनिक जसो १२ जना मजदुर रहेको प्रोजेक्ट म्यानेजर ई. बरालले बताए । नेपालमा लकडाउन हुनु केही दिनअघि नै भारतीय कामदार भारत गएकाले प्रि—इन्जिनियरिङ बिल्डिङको काम भने बाँकी रहेको उनको भनाइ छ । फलामको ट्रसबाट जडान गरी निर्माण हुने ९० वाई १२ मिटरको उक्त भवनको प्राविधिक भारतीय भएकाले काममा ढिलाइ हुने उनले बताए ।

देशमा लकडाउन भएको कारण धेरै मजदुरहरुलाई काम लगाउदा जोखिम हुने र निर्माण सामग्री अभाव तथा भारतीय दक्ष कामदार बिना कामअघि बढाउन मुस्किल पर्ने भएकाले अहिलेको अवस्थामा करिब डेढदेखि दुई महिनासम्म रंगशालामा फिनिसिङ तर्फकै काम हुने उनको भनाइ छ ।
पोखरा रंगशालाको चारैतर्फ गरी हालसम्म १६ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको हरियो फुटबल मैदान, सेन्थेथिक फुट्याक तयार पारिएको ई. बरालले बताए । फ्रान्सबाट आयात गरिएको प्यारापिटको सामान १३औं सागको अवसरमा केही भाग तयार पारिएको थियो । करिब ६५ सय सिट क्षमताको प्यारापिट तयार भएसँगै १३ औं सागअन्तर्गत महिला फुटबल खेल पोखरामा भएको थियो । त्यो लगतै पोखरामा आहा रारा गोल्ड कप भएको थियो ।
भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एमए कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी) कम्पनीले उक्त प्रोजेक्ट एक अर्ब २८ करोडको लागतमा निर्माण गर्ने गरी जिम्मा लिएको हो । नवौं राष्ट्रिय खेलकुद यही वर्षमा गण्डकी प्रदेशमा हुने भएकाले गर्दा लकडाउनमा पनि उक्त पोखरा फुटबल स्टेडिएम निर्माणकार्य अघि बढेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले बताए । नवौं खेलकुद पोखरामा आधार बनाएर विभिन्न खेल हुने हुँदा पोखरामा फुटबल स्टेडिएमसहित पोखरा रंगशालामा करिब ३५ लाखको लागतमा पोखरा फुटबल मैदानसमेत हालै तयार पारिएको उनले जनाए । उनका अनुसार लकडाउनको ४९औं दिनसम्म निरन्तर मजदुरहरू परिचालन गरी उक्त मैदान निर्माण गरिएको हो । १३औं सागको समयमा केही काम सुरु भई हाल अलपत्र अवस्थामा रहेको फुटबल प्रशिक्षण मैदानमा हाल दुबो रोपिएको छ ।


सातामा धेरै पढिएको