दीननाथ बराल
सोमवार, चैत्र १०, २०७६
379

पोखरा-कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण पोखरामा पर्यटकीय गतिविधि शून्यप्रायः भएका छन् । सतर्कता र सजगता अपनाउनका लागि साहसिक खेल गतिविधि पनि बन्द भएका छन् ।
साहसिक खेल गतिविधिको केन्द्र मानिने पोखरामा केही दिन अघिदेखि हेलिकोप्टर माउन्टेन फ्लाइटदेखि अल्ट्रालाईट फ्लाइट, हर्ट एयर वेलुन बन्द भएकोमा सोमबारदेखि प्याराग्लाइडिङका खेल गतिविधि समेत बन्द हुने भएको छ ।

सरकारले यही चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न गरेकोमा आफूहरुले पनि चैत १० अर्थात् सोमबारदेखि चैत २१ गतेसम्म प्याराग्लाइडिङका कुनै पनि गतिविधि नगर्नेे भएको हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए । उनले भने, “विश्वमा हाल कोरोना भाइरसको त्रास बढेका वेला नेपाल र पोखरामा पनि कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकोले हामीले पर्यटक तथा प्याराग्लाइडिङ पाइलट एवं व्यवसायीहरुको सुरक्षाको लागि पनि केही दिनको लागि प्याराग्लाइडिङको टेण्डम (व्यवसायिक) तथा सोलो फ्लाइट एवं प्रशिक्षण समेत पूर्ण रुपमा बन्द गर्ने भएका हौं ।”
कोरोना भाइरसको सन्त्राससँगै पोखरामा दैनिक ५०÷६० जना पर्यटकहरुलाई प्याराग्लाइडिङ गराउँदै आए पनि सोमबारदेखि पोखराको आकासमा कुनै पनि प्याराग्लाइडिङका खेल गतिविधि नहुने भएको अध्यक्ष भण्डारीले बताए । अन्य समयमा पोखरामा दैनिकजसो ३ सय भन्दा बढी पर्यटकहरुलाई पोखराको आकासमा प्याराग्लाइडिङ गराउँदै आएको उनले जनाए । पोखरामा हाल ६० वटा प्याराग्लाईडिङ कम्पनीहरु रहेका छन् भने २ सय भन्दा बढी व्यावसायिक प्याराग्लाइडिङ पाइलट र उत्तिकै संख्यामा सिकारु (सोलो) पाइलटहरु रहेको नाले जनाएको छ ।
केही दिनदेखि पोखरामा हेलिकोप्टर तथा अल्ट्रालाइट उडान प्रभावित भएको पोखरा विमानस्थल कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए । उनका अनुसार प्रभु हेलिकोप्टर सेवाको एक÷दुई फ्लाइट बाहेक अन्य ४ वटा हेलिकोप्टर कम्पनीको प्रायः फ्लाइट भएको छैन । कोरोना भाइरसका कारण हवाई उडानमा भने थोरै प्रभावित भएको सूचना अधिकारी सुवेदीले जनाए । उनका अनुसार बुद्ध एयरलायन्सले एक, यती एयरलायन्सले दुई, श्री एयरलायन्सले एउटा हवाई उडान घटाएको छ । यात्रुको चाप कम भएसंगै एयरलायन्स कम्पनीले केही मात्रामा नियमित हुने गरेको हवाई उडान घटाएको सूचना अधिकारी सुवेदीले जनाए । पोखराको अर्को साहसिक खेल हट एयर बेलुन समेत १५ दिनलाई बन्द गरिएको बेलुन नेपालका संचालक बिक्रम बाडेले बताए । पोखराका अन्य सहासिक खेल गतिविधि ¥याफ्टिङ, जिपलाइन, बन्जी जम्प, क्यानोनिङ लगायतका साहसिक खेल गतिविधि समेत प्रभावित भएको छ ।
यसैबीच पोखराको मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको फेवातालमा डुंगा सयर आइतबारदेखि ठप्प भएको छ । पोखरामा पनि कोरोना भाइरसको जोखिम भएको हँुदा पर्यटक र व्यवसायी एवं मजदुरहरुको व्यक्तिगत सुरक्षाको लागि अर्काे सूचना जारी नहुँदासम्म फेवातालमा कुनै पनि डुंगा संचालन नहुने भएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए । पोखरामा ७ सय ५० भन्दा बढी व्यावसायिक डुंगा रहेकोमा मजदुर तथा स्वरोजगार मजदुर गरी करिब ६ सय जना रहेको उनले जनाए ।