कारोबार संवाददाता
सोमवार, चैत्र ३, २०७६
1081

पोखरा- राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले आगामी तीन महिनामा पोखरामा २० हजार सिट क्षमताको प्यारापिट सहितको अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कार्य सम्पन्न हुने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले १६ हजार ५ सयको सिट क्षमतामा पुनः ३ हजार ५ सय सिट थप गरी प्यारापिट सहितको फुटवल स्टेडिएम निर्माण गर्ने बताएका हुन् ।
१ अर्ब २८ करोडको लागतमा हाल पोखरामा निर्माणाधिन रहेको पोखरा फुटवल स्टेडियममा ३ हजार ५ सय सिट क्षमता बढाउँदा करिब १५ प्रतिशत अर्थात् २० करोड बढी बजेट लाग्ने भएको उनले बताए । पोखरा रंगशालामा हाल प्रयोग भएको स्टील स्टक्चर उच्च गुणस्तरको भएकोले सिट न्यूनतम १० वर्ष र अन्य ५० वर्षसम्म टिक्ने उनले दाबी गरे । पोखरामा राति पनि अन्तर्राष्ट्रिय प्रतियोगिता संचालनको लागि फ्लड लाइट र स्कोर वोर्डको व्यवस्थापन गर्ने सदस्य सचिव सिलवालले बताए । आगामी वर्षको लागि उक्त योजना पार्नको लागि १५ करोडको बजेट सहितको प्रस्ताव पेश गरिएको उनले जनाए ।

गण्डकी प्रदेशमा आगामी फागुन महिनामा हुने नवौं राष्ट्रिय खेलकुदको लागि करिब ७५ करोडदेखि एक अर्ब बजेट माग गरिने सदस्य सचिव सिलवालले बताए ।
कोरोना भाइरसका कारण हाल जारी रहेका केही प्रतियोगिताबाहेक अन्य कुनै पनि खेल गतिविधि हाल अर्को सूचना नआउँदा सम्म स्थगित गरिएको उनले प्रष्ट पारे ।