देवराज गुरुङ
मंगलबार, फाल्गुन १३, २०७६
1412

ताप्लेजुङ- पाथीभरा अन्तराष्ट्रिय म्याराथुन पुरुषतर्फको उपाधि सुमन कुलुङले जितेका छन् । पाँचथरका प्रकाश थाम्सुहाङ दोश्रो बने । तेश्रो स्थान जुम्लाका दुर्गाराज बुढाले प्राप्त गरे । सोलुखुम्बुका कुलङले निर्धारित ५४ किलोमिटरको दुरी ४ घन्टा १३ मिनेट २७ सेकेन्डमा पुरा गरे । दोश्रो भएका थाम्सुहाङले ४ घन्टा १४ मिनेट ९ सेकेन्डमा पुरा गरे ।
महिलातर्फको उपाधि सुनमाया बुढाले जितेकी छिन् । जुम्लाको पत्रासी गाउँपालिकाकी बुढाले ४७ किलोमिटरको दुरी ३ घन्टा ३८ मिनेट ५० सेकेन्डमा पुरा गरिन् । दोश्रो बनेकी त्रिभुवन आर्मीकी सरिता बासीले ३ घन्टा ४८ मिनेटमा पुरा गरिन् । धाधिङकी रसिला तामाङले ४ घन्टा १ मिनेटमा निर्धारित दुरी पुरा गरि तेश्रो भएकी हु्न । पुरुषतर्फ प्रथम भएका कुलुङले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे ।

दोश्रो र तेश्रो बनेकाले क्रमश १ लाख ११ हजार १ सय ११ तथा ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे । महिलातर्फ प्रथम भएकी बुढाले ८१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरिन् । दोश्रो भएकी रसिला तामाङले र तेश्रो बनेकी रसिला तामाङले जितिन् । पूरुषतर्फ १ सय जना धावकको सहभागीता थियो । महिलातर्फ २३ जनाले प्रतिस्पर्धा गरे । फुङलिङ–उकालीपानी–सुकेटार–देउराली–काफ्लेपार्टी–माथिल्लोफेदिहुँदै पाथीभरासम्म पुगेर पुनः सदरमुकामस्थित श्री भिमकाली गुल्मसम्मको रुट तय गरिएको थियो । संस्कृती,पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश कुमार भट्टराईले म्याराथुन दौडको उद्घाटन गरेका थिए । भ्रमण वर्ष २०२० को अवसरमा पाथीभरा अन्तराष्ट्रिय म्याराथुन तथा मेची पर्यटन महोत्सव आयोजना गरिएको हो ।
फागुन ९ गतेदेखि १३ गतेसम्म आयोजित महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती राखिएको छ । १५ वटा जातिय परिकारका खाद्य परिकार स्टल छन् । ढाका तथा अल्लोका सामाग्री एवंम जिल्लामा उत्पादित सामान विक्रीका लागि स्टल राखिएका छन् । महोत्सवमा माउन्टेन एयरको हेलिकप्टरमार्फत जिल्लाका पर्यटकीय स्थल भ्रमण राखिएको छ । सदरमुकाम परिक्रमावापत ४ हजार शुल्क तोकिएको छ । पाथीभरा देवीको दर्शनको १० हजार,फुङफुङे झरना १२ हजार र तिम्बुङ पोखरीसम्मको २२ हजार तोकिएको छ । महोत्वमा भेडीगोठ प्रदर्शनी गरिएको थियो । सदरमुकाममा कमल विष्टले ३ सय बढि भेडाको गोठ ल्याएका थिए । भेडी गोठ ल्याएसँगै मानिसहरु फोटो खिच्दै रुचीपूर्वक अवलोकन गरे ।