कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
182

पोखरा- १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल पार्न १३ देशका २१ जना विदेशी धावकहरु सहभागि हुने भएका छन्। शनिबार पोखरामा हुने उक्त प्रतियोगितालाई सफल पार्न विश्व शान्तिको कामना गर्दै पिस टर्च सहित १३ देशका २१ जना विदेशी धावकहरु पोखरा आइसकेको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गर्ने भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए । उनका अनुसार म्यराथनमा एक सय भन्दा बढी धावकहरु सहभागि हुने भएका छन् । उक्त प्रतियोगितामा सहभागि हुन विभागिय सहित देशका विभिन्न ठाउँबाट हालसम्म एक सय भन्दा बढी धावकहरुले नाम दर्ता गराएको अध्यक्ष गुरुङले जनाए ।
उनका अनुसार म्याराथन (४२ किलोमिटर दौड) सहित महिला र पुरुष दुवै तर्फका लागि १० किलोमिटर सडक दौड, ५ किलोमिटर छात्र र छात्रा दौड, दृष्टी विहिन पुरुष-महिला, ह्विल चियर र रन फर फनमा गरी करिब ७ हजार जना दौडने छन् ।

पोखरासँग भगिनी सम्वन्ध रहेको जापानको कोमागाने शहरको उत्कृष्ट धावक समेत सहभागिताका लागि पोखरा आइसकेका अध्यक्ष गुरुङले जनाए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी संरक्षक रहेको उक्त म्याराथनबाट पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिने भएको आयोजकले जनाएको छ ।