कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६
371

टोकियो - २०२० टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीहरुले जापानमै प्रशिक्षण पाउने भएका छन् । नेपाली खेलाडीहरुलाई जापानमा प्रशिक्षणको लागि यहाँको तोकोशिमा प्रिफेक्चरले सहयोग गर्ने भएको छ ।
नेपाली खेलाडीलाई जापानमा प्रशिक्षण व्यवस्था मिलाउने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी) र तोकोशिमा प्रिफेक्चरबिच सोमबार जापानमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार ओलम्पिक खेलमा सहभागी हुन आउने नेपाली खेलाडीहरुले जापानमै रहेर १५ दिन प्रशिक्षण गर्नेछन् । यसको लागि नेपाली खेलाडी र प्रशिक्षकहरुलाई जापानमा रहन र प्रशिक्षण केन्द्र उपलब्ध गराउने काम तोकोशिमा गर्भनर कार्यालयले गर्नेछ ।
यस विषयमा तोकोशिमा प्रिफेक्चरका गर्भनर कामोन इजुमी र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
तत्कालको लागि स्विमिङबाट गौरिका सिंह र एलेक्जेण्डर शाहले जापानमै प्रशिक्षण गर्ने निश्चित भएको छ । आर्चरीबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीहरुले पनि यहीँ प्रशिक्षण पाउने भएका छन् ।
सम्झौता अनुसार आर्चरी र स्विमिङसँगै ८ खेलका खेलाडी र प्रशिक्षक गरेर कुल १६ जनाको लागि जापानमा रहने सम्पूर्ण व्यवस्था तोकोशिमा प्रिफेक्चरबाट हुने भएको छ । यसबाट खेलाडीहरुलाई समय, हावापानी लगायत कुराका कारण विगतमा हुनेगरेको असर कम हुनुका साथै यहाँको रहनसहनमा खेल खेल्न अभ्यस्त हुन सहयोग पुग्नेछ ।
ओलम्पिकमा नेपालले प्रतिस्पर्धा गर्ने सबै खेलका खेलाडीहरुलाई सहयोग उपलब्ध गराउन आफूहरुले माग गरे पनि खेल र खेलाडीहरु तय नभईसकेका कारण तोकोशिमा प्रिफेक्चरका गभर्नर कामोन ईजुमीले सबै खेल र खेलाडी टुंगो लागेपछि यसबारेमा आवश्यक सहयोग गर्ने बताएको श्रेष्ठको भनाइ छ ।
सम्झौतामा पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य र आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले हस्ताक्षर गरे । कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, राजदूतावासका तृतिय सचिव प्रेम बराल लगायतको उपस्थिति रहेको थियो ।
२०२० टोकियो ओलम्पिक आगामी जुलाई २२ तारिखबाट सुरु भई अगष्ट ९ तारिख सम्पन्न हुँदैछ ।

गोकर्ण अधिकारी