कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६
499

भैरहवा- खेल पत्रकार प्रज्वल ओलीको समाचार विश्वकै उत्कृष्ट ३ समाचारमा छनोट भएको छ । खेल पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल स्पोर्टस् प्रेस एसोसिएसन (एआइपिएस)ले आयोजना गरेको स्पोर्टस् अवार्ड २०१९ को समाचार प्रतियोगितातर्फको विधामा विश्वभरका खेल पत्रकारमध्ये ओलीको समाचार उत्कृष्ट ३ मा परेको हो । ओली छनौट भएको विधामा उनीसँगै स्पेन र अर्जेन्टिनाका पत्रकार छन् । यो विधामा पहिलो हुनेले ८ हजार, दोश्रो हुनेले ५ हजार र तेश्रो हुनेले २ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
ओलीले नेपालमा मुस्किलले ५० खेल खेलिने तर २ सय वटा खेल संस्था दर्ता भएको समाचार लेखेका थिए । उक्त समाचार द काठमान्डु पोष्टमा प्रकाशित भएको थियो । यो विधामा विश्वका १ सय ८० देशका १ हजार ८ सय खेल पत्रकारले आफूले लेखेको समाचार पठाएका थिए । उत्कृष्ट समाचार विधामा पहिलो हुने खेल पत्रकारको घोषणा फेब्रुअरी ३ मा हंगेरीको बुडापेष्टमा आयोजना हुने स्पोर्टस् अवार्ड २०१९ को विशेष कार्यक्रममा हुनेछ । गत वर्ष काठमाडांैकै अर्का खेल पत्रकार आदर्श ढकालको समाचार पनि उत्कृष्ट ३० मा पर्न सफल भएको थियो ।