कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
324

दमौली-तनहुँको व्यास नगरपालिकाले खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अल्ट्रा म्याराथन गर्दै आएको छ ।
खेलकुदमार्फत जिल्लाका पर्यटकीयस्थलको विकास र प्रचारप्रसार गर्न पर्यटकीयस्थल मानहुँकोटदेखी पुलिमराङसम्म ४४ किलोमिटर अल्ट्रा म्याराथन गर्दै आएको हो । त्यसैलाई निरन्तरता दिर्दै सहिद दिवसको अवसरमा माघ १६ गते तेस्रो व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ । खेलकुदमार्फत ग्रामीण पर्यटनको प्रवद्र्धन गर्न अल्ट्रा म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । ग्रामीण क्षेत्रका धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वका स्थानको पहिचानमा पनि अल्ट्रा म्याराथनले सघाउने नगरपालिकाले विश्वास लिएको छ । राष्ट्रियस्तरमा मानहुँकोट र पुलिमराङजस्ता पर्यटकीय क्षेत्रको प्रचार बढाउन देशका सबै ठाँउबाट धावक सहभागी गराउने गरी तयारी भइरहेको कार्यक्रम संयोजक सुरेश थापाले जानकारी दिए ।

मानहुँकोटबाट सुरु हुने दौडमा धावकहरूले मानहुँकोट सिद्धमार्ग हुदैँ अलैंचे, चापाघाट पुथ्वीराजमार्ग, दमौलीको दुर्गा मन्दिर सडासडक, अनसन चौतारी, भोर्लेटार चोक, बैरेनी, दुम्सी खहरे, कलेस्ती, पाथ्रा, सत्रसय, कालिका मार्ग हँुदै बानिया डिही, बर्लाछी, सोतीबेसी, बगुवा रिस्ती, बाहुन पोखरा, गाडापानी लगायतका स्थान पार गरी पुलिमराङ सहिद पार्कसम्मको ४४ किलोमिटर दूरी पार गर्नुपर्नेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीलाई करबाहेक क्रमशः ८१ हजार, ६१ हजार र ५१ प्रदान गरिनेछ । त्यस्तै प्रतियोगितामा सान्त्वना हुने ५ जनाले जनही १६ हजार ७६ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लागि माघ १४ गतेसम्म आवेदन दिन पााउने छन् । अघिल्लो वर्ष राष्ट्रिय तथा स्थानीयस्तरका ८७ जना धावकले प्रतियोगितामा भाग लिएको नगरपालिकाले जानकारी दिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा दमौलीदेखी तनहुँसुरसम्म महिला धावकका लागि हाफ म्याराथनसमेत गर्ने तयारी भइरहेको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।
सोही दिन व्यास–८ पुलिमराङमा प्रजातन्त्र प्राप्तिका लागि ज्यान गुमाएका ६ जना सहिदको सालिक अनावरणसमेत गरिनेछ । बजेट अभावका कारण २०६६ सालमा स्थापना गरिएको ६ जना सहिदको अर्धकदको सालिक ढाकेर राखिएको थियो । पहिल्यै थालिएका संरचना कमजोर भएकाले सहिद पार्कको पुनः गुरुयोजना निर्माण गरी काम थालिएको न्यौपानेले बताए । गुरुयोजना अनुसार सहिद पार्क निर्माण सम्पन्न गर्न ७ करोड लाग्ने अनुमान गरिएको छ ।

 सुनिता आचार्य