दीननाथ बराल
सोमवार, मंसिर १६, २०७६
322

पोखरा-पर्यटकीय नगरी पोखरामा आइतबारदेखि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) सुरु भए पनि सोमबार (आज) उक्त खेलको औपचारिक उद्घाटन निकै तामझामका साथ हुने भएको छ । ७ देशका खेलाडी एवं अफिसियलहरुलाई पोखरामा स्वागत गर्न पोखरा रंगशाला यतिबेला सिंगारिएको छ ।
रंगशालाको मूल गेटमा नेपाल सहित सागमा सहभागि ७ वटै देशको झण्डा सहित विभिन्न रंग रोगन र झिलिमिलि बत्तिले सिंगारिएको राखेप सदस्य राजेश कुमार गुरुङले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल हान्दै गरेको वोर्ड सहितको रंगशालाको मूल गेटको दायाँ बायाँ विभिन्न फूल रोपिएको छ भने नेपालको राष्ट्रिय झण्डासहित, ओलम्पिक झण्डा र सागमा सहभागि राष्ट्रको झण्डा समेत फहराइएको छ ।

पोखरा रंगशालामा महिलातर्फको फुटवल खेल र क्रिकेट खेल, ह्याण्डवल, आर्चरी र व्याडमिन्टन हुने भएको छ । पोखरा रंगशाला बाहिर भारतोलन, ट्रायथालन र बिच भलिवल हुने भएको छ ।
उद्घाटन समारोहमा सातै देशका खेलाडीहरुको मार्च पाससहित विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ । सातै देशको कला संस्कृति झल्कने नृत्यदेखि पोखरा र गण्डकी प्रदेशकै जनजाति र भेषभुषा झल्कने गरी २० वटा भन्दा बढी झाँकी समेत प्रदर्शन गरिनेछ ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गर्ने भएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पोखरामा हुने ८ खेलमा एक सय ५१ पदकको लागि प्रतिष्पर्धा हुनेछ । ४८ स्वर्ण पदक, ४८ रजत र ५५ वटा कास्य पदक सहित १ सय ५१ पदकको लागि एकल तथा सामूहिकतर्फ प्रतिष्पर्धा हुने १३ औं साग पोखरा प्राविधिक समितिका अध्यक्ष विद्या मरासिनीले बताए । ४ सय १ जना महिला सहित ७ सय २२ जना खेलाडीहरु पोखरामा हुने ८ खेलमा सहभागि हुने भएका छन् ।