दीननाथ बराल
शुक्रवार, आश्विन १७, २०७६
791

कोलकक्ताको दुबो रोप्न सुरु

पोखरा रंगशालाको फुटबल मैदानमा भारतको कोलकत्ताबाट ल्याएको दुबो रोप्न सुरु गरिएको छ । निर्माण हुँदै गरेको पोखरा रंगशालाको फुटबल मैदानमा भारतीय कोलकत्ताको बर्माडा ग्रास (दुबो) रोप्न सुरु गरिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले बताए ।
पहिलो चरणमा एक गाडी अर्थात् १५ हजार वर्गफिट दुबो पोखरा आएको उनले बताए । भारतको नाकाबाट उक्त गाडी नेपाल भित्रिनका लागि प्राविधिक कारणवश तीन दिनसम्म रोकिन पुगेको बरालले जनाए । उक्त दुबोमा माटोसमेत टासिएकाले भारतबाट नेपाल ल्याउन केही कठिनाइ भएको उनले गुनासो गरे । खास दुबो लोड गरेको ४ दिनभित्र पोखरा ल्याउनु पर्नेमा प्राविधिक कारणले भारतमा तीन रोकिँदा पनि उक्त दुबो एसी गाडीमा ल्याएकाले गर्दा हल्का ओइलाएको जस्तो देखिए पनि एक सातामै मौलाएर आउने बरालले जनाए । पोखराको भन्दा कोलकक्ताको तापक्रम बढी भए पनि पोखरामा उक्त दुवो राम्रोसँग सर्ने प्राविधिक टोलीको आधारमा आफूहरूले भारतको दुबो रोजेको उनले प्रष्ट पारे । भारतको कोलकक्ताबाट हिँडेको करिब एक सातामा पोखरामा आइपुगेसँगै उक्त दुबो रंगशालाको दक्षिण पूर्वी कर्नरबाट दुवो रोप्न सुरु गरिएको छ ।
बरालले भने, “पोखरा रंगशालाको फुटबल मैदानभरिका लागि ९० हजार वर्गफिट बर्माडा ग्रास दुबो कोलकत्ताबाट ल्याउनका लागि अग्रिम बुकिङसमेत गरिसकेका छौं, बाँकी दुबो दसैंअघि नै आइसक्छ ।” फुटबल मैदान निर्माणको अन्तिम घडिमा आर्टिफिसियलबाट नेचुरल फुटबल मैदान निर्माण गर्ने निर्देशन पाएसँगै आफूहरूले पोखराको वातावरण अनुकूल हुने गरी कोलकत्ताबाट दुबो ल्याउन केही दिन ढिलाइ भएको बरालको भनाइ थियो । केही दिनअघि पोखरामा लगातार जसो पानी पर्दा पोखरा रंगशाला निर्माणअन्तर्गत दुबो ल्याउन, ट्रयाकमा पिच गर्नसमेत केही दिन ढिलो भएको उनले जनाए ।
आगामी डिसेम्बर १ देखि १० तारिख १३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबल प्रतियोगिताका लागि आफूहरूले फुटबल स्टेडियम निर्माण गरी सक्ने र हाल निर्माणकार्य तीव्र गतिमा अघि बढेको बरालले जनाए । उक्त प्रोजेक्ट आफूहरूका लागि अग्नी परीक्षा नै भएको दाबी गर्दै प्रोजेक्ट म्यानेजर बरालले तोकिएको मितिमा आफूहरूले ८ देखि १० हजार सिट क्षमताको प्यारापिटसहितको फुटबल मैदान निर्माण गर्ने दाबी गरे । उनका अनुसार हालसम्म पोखरा रंगशाला निर्माणको करिब ५० प्रतिशत जसो निर्माण कार्य सम्पन्न भएको छ । चारवटा केन्द्रमध्ये हाल आफूहरूले ए र सी ग्रिडतर्फ केन्द्रित भएको उनले जनाए । प्यारापिट, ट्रयाक, शौचालय लगायतको काम एकै साथअघि बढेको बरालले जनाए । भारतको ग्रेट स्पोट्र्स इन्फ्रा इन्डियाले नेपालको एमए कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा एक अर्ब २८ करोडको लागतमा उक्त प्रोजेक्टको जिम्मा लिएको हो ।

मन्त्री पुनको संयोजकत्वमा व्यवस्थापन समिति
पोखरामा पनि सागका ९ खेल हुने भएपछि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा स्थानीय व्यवस्था सहजीकरण समिति चयन भएको छ । १३औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि मन्त्री पुनको संयोजकत्वमा ५ सदस्यीय उक्त समिति चयन गरेको हो ।


सातामा धेरै पढिएको