कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
370

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित ब्यानर मनास्लु हिमालको चुचुरोमा पु-याइएको छ । युवा स्काउटर एवं आरोही प्रकाशराज पाण्डेले सो ब्यानर मनास्लु चुचुरोमा पु-याएका हुन् ।
आरोही पाण्डेका अनुसार ८,१६३ मिटर उचाईको विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण उनले असोज ८ गते गरेका हुन् । पाण्डेले अघिल्लो वर्षको वसन्तमा सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

पायोनियर एडभेन्चर प्रालिमार्फत् गाइड फुर्वा कुसाङ्ग शेर्पासँग पाण्डेले मनास्लु हिमाल आरोहण गरेका हुन् । पाण्डेले यसअघि विश्व स्काउटका प्रवर्तक लर्ड वेडेन पावेलको नाउँमा नामाकरण गरिएको रसुवाको लाङटाङ्गस्थित ५ हजार ८ सय ९० मिटर अग्लो ‘वेडेन पावेल स्काउट हिमाल’ दुई पटक सफल आरोहण गरिसकेका छन् भने सोलुखुम्बुकै ६,१६० अग्लो हिमाल ‘आइल्याण्ड पिक’ २०१६ मा चढेका थिए । त्यसैगरी २०१८ मा ६,८१२ मिटर अग्लो आमादब्लम हिमालको पनि आरोहण गरिसकेका छन् ।
विश्व स्काउट संगठन र मेसेन्जर अफ पिसको आधिकारिक झण्डा लिएर सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पाण्डे विश्वकै पहिलो स्काउट मानिन्छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आगामी वर्षबाट पाण्डेले सातै वटा महादेशको अग्लो हिमालहरु चढ्ने योजना राखेको बताए । सक्रिय स्काउटर समेत रहेका पाण्डे बाह्र वर्षदेखि स्काउटमा संलग्न रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।


सातामा धेरै पढिएको