कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
242

जुम्ला-पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ जुम्लामा दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ । कर्णालीका धार्मिक तथा पर्यटकीय स्थललाई चिनाइ पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको हो । कर्णाली खेलकुद क्लब जुम्लाले पत्रकार सम्मेलन गरी यही भदौ २९ गतेदेखि जुम्ला रारा अल्ट्रा म्याराथन हुने जनाएको छ ।
म्याराथनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी गरी एकसय बढि खेलाडी सहभागि हुने छन् । कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार यो म्याराथन नेपाल ट्रेल सेरिज २०१९ को प्रमुख पाँच अल्ट्रा म्याराथनमध्ये एक हो । यो सेरिजको सेमिफाइनलका रूपमा पनि म्याराथनलाई लिइएको छ, । उनले म्याराथनको आवश्यक तयारी पनि पूरा गरेको जानकारी दिए ।

विशेषगरी जुम्ला हुदै मुगु सम्म पुग्दा सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारप्रसारमा टेवा र्पुयाउने उद्देश्यले म्याराथन आयोजना गरिएको अध्यक्ष्श शाहिले बताए । दोस्रो अल्ट्रा म्याराथन उद्घाटन गर्न कर्णाली सरकारका सामाजिक विकास मन्त्री दल रावल जुम्ला आउने भएका छन् । भने, कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट शुरु भएर टुडिखेल, कर्णाली अस्पताल, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउर, काभ्रा, चौथा, भुलभुले, चुचेमारा भएर रारातालमा पुगेर समापन हुनेछ ।
करिब ५१ किलोमिटरको दुरीमा म्याराथन हुने छ । प्रतियोगितामा खुला महिला र पुरुष गरि दुई समूहमा म्याराथन हुने एथ्लेटिक्स धावक हरीबहादुर रोकायाले बताए । बालबालिकाका लागि पाँच किलोमिटर र एक किलोमिटर दौड सञ्चालन गराइने उनले बताए । अल्ट्राम्याराधनमा दुवै समूहका विजेता धावक मध्ये प्रथमलाई ७५ हजार रुपैयाँ, द्वितीयलाई ५० हजार रुपैयाँ र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै टप टेनसम्ममा आउने खेलाडीलाई पाँच हजार नगद, ट्रफी, मेडल, सर्टिफिकेट उपलब्ध गराइने आयोजकले जनाएको छ । यो म्याराथनमा विजेता धावकले अन्नपूर्णमा पहिलो पटक हुन लागेको विश्व विख्यात, अल्ट्रा म्याराथन २०१९ को फाइनलमा विश्वका उत्कृष्ठ खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न पाउने छन् । म्याराथनमा सहभागिताको लागि दर्ता शुल्क एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

शाहद्वारा एक लाख सहयोग
एथ्लेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले जुम्ला रारा अल्ट्रा म्याराथनको लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन् । जुम्लामा पत्रकार सम्मेलनका क्रममा, संघका केन्द्रीय अध्यक्ष शाहले एक लाख दिने घोषणा गरे । खेलकुद परिषदमा भइरहने चर्को राजनीतिले नेपालको खेल क्षेत्र अघि बढ्न नसकेको बताए । जुम्लामा हुने अल्ट्रा म्याराथनले खेलाडी उत्पादन संगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकोलेपनि सहयोग गर्ने उनको भनाई छ ।
अध्यक्ष शाहले भने, अहिलेसम्म ४९ जिल्लामा एथ्लेटिक्स संघ छन्, संघले हरेक जिल्लाबाट नियमानुसार खेलाडी उत्पादन गर्नुपर्छु उनले भने, ‘नम्बर एक खेलाडी उत्पादन हुने जिल्ला भनकै जुम्ला हो । जुम्लामा खेल क्षेत्रको प्रयाप्त सम्भावना छ । यसले कर्णाली प्रदेशलाई नै चिनाउँदछु । उनले खेल क्षेत्रमा सरकारको ध्यान नपुगेको प्रति दुःख पोखे । उनले हरेक एक वर्षमा गरी पाँच वर्षसम्म १÷१ लाख रुपैयाँ कर्णाली खेलकुद क्लबलाई दिने घोषणा पनि गरे ।