दीननाथ बराल
बुधवार, भदौ २५, २०७६
383

साग लक्षित खेल पूर्वाधार निर्माणमा गण्डकी प्रदेशले सहयोग गर्ने
पोखरा-१३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित हुने गरी पोखरामा हुने खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरीप्रसाद बस्यालले निर्माण हुँदै गरेको पोखरा रङ्गशालाको अवलोकन गर्दै पोखरामा निर्माण हुने साग लक्षित खेल पूर्वाधारमा आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।

पोखरा रङ्गशाला निर्माण कम्पनीलाई निर्धारित मितिमा फुटवल मैदानसहितको रङ्गशाला निर्माण गर्न आग्रह गर्दै सागका विभिन्न खेल पोखरामा हुनु प्रदेशको इज्जतसँग समेत जोडिएको उनले बताए । निर्माण कम्पनीले के कसरी काम गरेको छ सोको बारेमा आफूहरुले सम्पूर्ण जानकारी लिएको बताउँदै प्रमुख सचिव बस्यालले निर्माण कम्पनीले भारतबाट ल्याउने कुनै पनि निर्माण सामाग्री भन्सारमा रोकिन नहुने जनाए ।
‘साग पोखरामा हुनु प्रदेश सरकारको पनि प्रतिष्ठाको विषय हो’ उनले भने, ‘निर्माण सामग्री ल्याएँदा पर्ने समस्या समाधान गर्न हामी तयार छौं ।’ उक्त योजना समयमै सम्पन्न गर्नका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग आवश्यक परे समन्वय गर्न आफूहरु तयार रहेको बताए ।
प्रदेश सरकारले भ्रमण वर्ष मनाइरहँदा केन्द्र सरकारले सन् २०२० मा भ्रमण वर्ष मनाउने हुँदा पोखरामा अन्तर्राष्ट्रिय स्तरका खेल पूर्वाधार निर्माण हुनुले यहाँको खेल पर्यटनको समेत विकास हुने प्रमुख सचिव बस्यालले बताए । पोखरामा अन्तर्राष्ट्रिय खेलकुदका पूर्वाधार बन्नु नै यहाँको आर्थिक विकास र समृद्धि हासिल गर्न थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।आउदो मंसिर १५ देखि २४ गतेसम्म १३ सागअन्र्तगत पोखरामा ७ वटा खेलहरु हुने भएका छन् । भारतको ग्रेट स्र्पोट्स इन्फ्रा इन्डियाले नेपालको एमए कन्सट्रक्सन ललितपुरको संयुक्त सहभागितामा पोखरा रङ्गशाला निर्माण गर्न लागेको हो । एक अर्ब २८ करोडको लागतमा १८ हजार ५ सय दर्शक क्षमताको फुटबल प्याराफिट निर्माण हुने भएको हो । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले रङ्गशाला निर्माणको ४० प्रतिशत भन्दा बढी काम सकिएको दाबी गरे । पोखरा फुटबल मैदानको लागि हाल गिटी बिच्छाएसँगै रोलिङ गरी अब माटो बिच्छाउने काम अन्तिम चरणमा पुगेको उनले बताए । दैनिक जसो एक सय ४० जनाले निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ । कार्तिक १५ भित्र काम सम्पन्न गर्नेगरी योजना अघि बढाएको उनले जनाए । दशैंअघि नै दुवो रोप्ने ट्याक र डिएरियामा पिच समेत गरिने भएको उनले जनाए ।