कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
538

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दाबी गरेका छन् । सदस्यसचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरणबारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आईसिसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताएका हुन् ।
सोमबार (आज) कार्यकाल सकिँदै गरेका विष्टले आफ्नो कार्यक्रम दोहोरिएको खण्डमा आईसिसीको हेडक्वार्टरमै पुगेर निलम्बन फुकुवाको पहल गर्ने पनि बताए । क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्नेमा पनि जोड दिए ।

केही स्वार्थी तत्वहरुका कारण क्यान विवाद समाधान हुन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा क्यान निलम्बनमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए । क्यानको विवादित कमिटिले अदालतमा मुद्दा दायर गरेर समस्या सामाधान अवरोध गरेको पनि विष्टको आरोप छ ।
सदस्यसचिव विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रहेको दाबी गरे । विगतमा पटक पटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आगामी डिसेम्बर एकदेखि प्रतियोगिता सुरु हुने विष्टको जिकिर छ । प्रतियोगिताको लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको पनि विष्टले बताए ।
डिसेम्बरमा पनि नेपालले यो प्रतियोगिता गर्न नसकेको खण्डमा आयोजनाको जिम्मेवारी नै गुमाउन सक्ने विष्टको भनाइ छ । “संरचना निर्माण धमाधम भइरहेको छ । नीतिगत समस्या केही छैन । बजेटका विषयमा अध्ययन भइरहेको छ । अब डिसेम्बरमा बल, विवेक, क्षमताको प्रयोग गरेर प्रतियोगिता सम्पन्न गर्नुपर्छ । हुँदैन कि भन्ने आशंका नगर्नुस्,” उनले भने ।
‘धुर्मुस–सुन्तलीले रंगशाला बनाउने, तपाईंहरु नसक्ने ?’ भन्ने पत्रकारको प्रश्नमा विष्टले यस्तो सोच्नु अल्पज्ञान भएको बताए । सरकारका तर्फबाट दर्जनौँ रंगशाला बनिरहको दावी गर्दै उनले कुनै एउटा रंगशाला निजी क्षेत्रले बनाउँदैमा आफूहरुले केही पनि नगरेको भन्ने सोच नराख्न आग्रह गरे ।
सदस्य सचिव विष्टले आफ्नो चार वर्षे कार्यकाल सफल भएको दाबी गरेका थिए । भूकम्पपछि खेलकुद संरचना ध्वस्त भएको, राजनीतिक अस्थिरता, सबैजसो खेलकुद संघमा विवाद, बजेटको अभाव जस्ता समस्या चिर्दै आफूले कार्यकाल सफल बनाएको उनको दाबी छ । आफ्नो कार्यकालमा खेल विश्वविद्यालय, खेल अस्पताल, वैदेशिक प्रशिक्षण, अन्तरराष्ट्रिय पदक जित्नेलाई आजिवन भत्ताको व्यवस्था गरिएको विष्टले बताए ।