लक्ष्मण ढुंगाना
आइतवार, असार ८, २०७६
287


नेपालगञ्ज रंगशालामा पौडी पोखरी निर्माण सुरु भएको एक दशकपछि पोखरी तयार भएको छ । २०६६ सालमा तत्कालिन खेलकुदमन्त्री गणेश नेपालीले शिलान्यास गरेयता ९ जना मन्त्री फेरीएका छन । तर पौडी पोखरी भने निर्माण कार्य भने अलपत्र अवस्थामै थियो । गत वैशाख पहिलो साता नेपालगन्जमा सुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरिए पनि खेल सकिएको करिब २ महिनापछि अत्याधुनिक पौडी पोखरी तयार भएको हो ।

पोखरी तयार नहुँदा राष्ट्रिय खेलकुद परिषद्ले नेपालगन्जको चारतारे होटल सिग्नेट इन कृष्णमा महँगो शुल्क तिरेर प्रतियोगिता गराएको थियो । सोको निकै आलोचना भएको थियो । प्रदेश खेलकुद परिषद् प्रदेश नम्बर ५ का अनुसार सुनकोसी डागन, वर्डवाईड जेभीसँग २०७४ जेठ १७ गते ठेक्का सम्झौता भएको उक्त पोखरी चालू आर्थिक वर्षको असार मसान्तमा सक्नुपर्ने छ । ५० मिटर लम्बाइ र २५ मिटर चौडाइको उक्त पोखरी ३ देखि ५ फिटसम्म गहिराइ रहने १० लेनको छ ।
स्वीमिङसम्बन्धी प्रशिक्षण तथा विभिन्न प्रतियोगिता गर्न मिल्ने गरी स्वीमिङ कम्पलेक्सका रूपमा निर्माण गरिएको उक्त पौडीपोखरीमा १ हजार ५ सय दर्शक क्षमताको प्यारापिट, २ लाख ५० हजार लिटर रिर्जब टंकी, २ लाख लिटर ब्यालेन्स टंकी, ५ वटा फिल्टर प्लान्ट, चेन्जिङ ब्लक, क्यान्टिन, टिकट घर, पार्किङ कम्पाउन्ड वाल, ल्याण्डस्केपिङ कार्य, अत्याधुनिक पानी शुद्धीकरण गर्ने उपकरण, रेस्टुराँ लगायतको सुबिधा छ ।
कुल १८ करोड लागत रहेको पोखरीको शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केसवकुमार विष्टले परीक्षण उद्घाटन गरे । पौडीपोखरीको उद्घाटन गर्दै विष्टले आफूले आफ्नो कार्यकालभित्र जसरी पनी पौडीपोखरी निर्माण गर्न गरेको प्रतिबद्धता पूरा भएको बताए । पोखरीको परीक्षण उद्घाटन गरिए पनि अझै फिनिसिङका कतिपय कामहरू बाँकी नै छन् । हाल परीक्षणका रूपमा सञ्चालनमा ल्याइए पनि निर्माणका क्रममा देखिएका कमीकमजोरीहरूलाई पूर्णरूपमा सुधार गरी पछि उद्घाटन गरिने विष्टले बताए । “उद्घाटन गर्नु ठूलो कुरा नभई सञ्चालन गर्नु ठूलो कुरा हो,” उनले भने, “पूर्णरूपमा निर्माण सम्पन्न भएपछि उद्घाटन गरिनेछ ।”
यो पौडी पोखरीलाई प्रशिक्षण स्थलका रूपमा प्रयोग गरेर नेपालगन्जलगायत प्रदेश नम्बर ५ मा विशिष्ट खेलाडीहरू उत्पादन हुने उनको भनाइ छ । यो पोखरीले खेलाडी उत्पादन गर्नुका साथै व्यावसायिक सफलता पनि हासिले गर्ने सदस्य सचिव विष्टले बताए । “यसबाट वर्षको ५ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका छौं,” उनले भने, “यस ठाउँको समृद्धि र सम्पन्नताको पनि मापन गर्ने भएकाले यो एउटा गौरवको योजना हो ।”
जसरी चुनौतीका बाबजुत यो निर्माण भयो त्यसैगरी सञ्चालनमा पनि चुनौती भएको बताउँदै उनले यो पौडी पोखरी मात्र नभएर सम्पूर्ण रंगशाला सञ्चालनका लागि पनि सबैको सहयोगको अपेक्षा राखे ।
यहाँ निर्माण भएका र बाँकी संरचनाहरू सम्पन्न हुन अझै ३÷४ महिना लाग्ने र त्यसपछि ५ नम्बर प्रदेश सरकारलाई हस्तान्त्रण गरिने कार्यक्रम रहेको विष्टले जानकारी दिए । “जब ५ नम्वर प्रदेश सरकारअन्तर्गत खेलकुदको कमिटी गठन हुन्छ, त्यसपछि यो रंगशाला अन्तगर्तका स्पोर्टस कम्पलेक्सहरू हस्तान्त्रण गरिनेछन्,” उनले भने ।
त्यस्तै क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले आठौं प्रतियोगिता यही पौडी पोखरीमा सञ्चालन गर्न चाहँदा–चाहँदै पनि प्राविधिक कारणवश सम्भव नभएको बताए । होटलमा प्रतियोगिता गराउनु परेकोमा क्षमाप्रार्थी भएको बताउँदै अव यस पौडी पोखरीले यसक्षेत्रका खेलाडीहरूलाई सहज हुने बताए ।
नेपालगञ्ज रंगशाला परिसरमा अत्याधुनिक पौडी पोखरी निर्माणको काम सकिएसँगै शुक्रबार पौडीपोखरीको परीक्षण तथा जिल्लास्तरीय पौडी प्रतियोगितासमेत सुरु गरिएको छ । सरकारी उदासीनताका कारण ढिलाई हुँदा विभिन्न समस्या झेलेको नेपालगन्ज रंगशालाले प्रचण्ड गर्मी हुने नेपालगञ्जमा पौडी पोखरी तयार भएपछि थोरै भए पनि राहतको महसुस गराउनेछ । पौडी पोखरीमा आवश्यक मापदण्ड बनाई शुल्क लिएर जोसुकैलाई पनि सेवा उपलब्ध गराइने बताइएको छ ।