कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
477


पोखराको फेवाताल किनारामा राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुर भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनमा यही असार ७ गतेसम्म चल्ने छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगितामा महिलातर्फ १४ र पुरुषतर्फ १७ टिमको सहभागिता रहेको संघ कास्कीका अध्यक्ष भीम पराजुलीले बताए ।

बिच भलिबल खेलको विकास गराउने उद्देश्यले फेवातालको किनारमा कृत्रिम बिच भलिबल कोर्ट निर्माण गरी उक्त प्रतियोगिता भएको हो । प्रतियोगितामा उत्कृष्ट महिला तथा पुरुषतर्फका ३-३ टिमका ६ जनालाई बन्द प्रशिक्षणमा राखेर साग खेलको लागि अन्तिम २-२ टिमका ४-४ जना खेलाडीहरु छनोट गरिने भएको नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यमबहादुर गुरुङले बताए ।
प्रतियोगितामा तीन विभागीय (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको एपिएफ) सहितका सातै प्रदेशबाट खेलाडीहरु सहभागी भएका छन् । प्रतियोगितामा महिला तथा पुरुष विजेता टिमलाई ३०-३० हजार, उपविजेता टिमलाई २०-२० हजार र तेश्रो हुनेलाई १०-१० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब २२ लाख खर्च लाग्ने संघले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन नेकपाका अक्ष्यष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।