कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६
654

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सूर्य नेपाल गल्फ टुर २०१८–१९ को नवौं तथा अन्तिम प्रतियोगिता वैशाख ३० गते सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा प्रोफेशनल गल्फरहरूले १२ लाख ६० हजार नगद पुरस्कारको लागि आ–आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन् ।
यो पटक दाबेदारी झन् मजबुत हुनेछ । नम्बर एक खेलाडी शिवराम श्रेष्ठको अनुपस्थितिमा अन्य गल्फरलाई नम्बर एक खेलाडीको ताज पहिरिने सुनौलो अवसर रहेको छ । जसको दाबेदार हुन्, नम्बर दुई खेलाडी भुवन नगरकोटी र चर्चित गल्फर सञ्जय लामा । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको विजेताले ट्रफीसँगैे २ लाख ३० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख ४० हजार र ९५ हजार प्राप्त गर्नेछन् । जसले अर्डर अफ मेरिटमा ठूलो अर्थ राख्नेछ । यही कारण खेलाडीका लागि चुनौती र अवसरको रुपमा रहेको छ, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप । डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटी उपाधि रक्षा गर्दै पहिलो पटक नम्बर एक खेलाडी बन्न चाहन्छन् । गत सिजन तीन उपाधि जित्दै करियरकै उत्कृष्ट प्रदर्शन गरे । तर यो सिजन उपाधिविहिन रहे ।
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा संयुक्त रूपमा दोस्रो हुँदा सूर्य नेपाल एनपिजिए म्याचप्लेमा पनि दोस्रो स्थानमा नै समेटिए । यो सिजनको प्रदर्शनमा भुवन आफै निराश छन् । लामो आइरनमा संघर्ष गरिरहनु परेको र फोकस हुन नसकेकोले नतिजा आउन नसकेको उनको भनाई छ । तर पछिल्लो समय क्लब परिवर्तन र घरेलु कोर्सले गर्दा आशावादी छन् भुवन । प्रो सञ्जय र एमेच्योर खेलाडीहरूलाई उनले चुनौती मानेका छन् । भुवनसँग फरक र रोचक प्रसङ्ग पनि छ । शिवरामश्रेष्ठ उनको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हुन्, र उनी नहँुदा कोर्समा सहज लिने बानीले पनि राम्रो नतिजा आउन नसकेको उनको ठम्याइ छ । भुवन शिवरामलाई मिस गरिरहेका छन् ।