कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५
446

इलाम- हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टर (मेची नेत्रालय) झापालाई शून्यका विरुद्ध ३ गोल गर्दै हिमालयनले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
जितका लागि हिमालयनका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा जर्सी नम्बर १७ का त्रिदेव गुरुङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको १७ औँ मिनेटमा हिमालयनका जर्सी नम्बर ४ का रवि थापाले गरेको प्रहार झापाका जर्सी नम्बर १५ का विष्णु सुनुवारको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । पुनः दोस्रो हाफको इन्जुरी समयमा हिमालयनका जर्सी नम्बर १३ का बिसन गुरुङले थप एक गोल गर्दै हिमालयनले माईभ्याली गोल्डकपको फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

यता झापाका खेलाडीले थुप्रै पटक गोल गर्ने अवसर प्राप्त गरेपनि गोल गर्न सकेनन् । अन्ततः झापा सेमिफाइनलबाटै प्रतियोगिताबाट बाहिरिन पुग्यो । खेलको म्यान अफ दि म्याच हिमालयनकै गोल किपर किशोर गिरी घोषित हुँदै नगद १० हजारसहित मेडल प्राप्त गरे ।
फाइनलमा मंगलबार हिमालयनले अफ्रीकन मुलुक क्यामरुनको दाउफिन्स क्लबसँग प्रतिष्पर्धा गर्नेछ । क्यामरुन सेमीफाइनलमा नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।