मीनकुमार नवोदित
सोमवार, चैत्र ४, २०७५
477

पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल

विराटनगर-नेपालमै पहिलोपटक भएको पाँचौं साफ महिला च्याम्पियनसिपमा भारत समूह ‘बी’ को विजेता बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा आइतबार भएको खेलमा भारतले श्रीलंकामाथि गोलको वर्षा ग-यो । फाइनल प्रवेशका लागि नेपालले श्रीलंकाको सामना गर्नेछ । शनिबार भएको खेलमा बंगलादेशलाई ३–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘ए’ को विजेता बनेको थियो ।
समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई ५–० को गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन भारत समूह विजेता बनेपछि नेपालले श्रीलंका सेमिफाइनलमा नेपालको सामना गर्ने भएको छ । समूह ‘बी’मा श्रीलंका भने उपविजेता रह्यो । भारतले अब सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । भारतले श्रीलंकामाथि पूरै दबाबमा राख्यो । उसले चौथो मिनेटमा नै खेलमा अग्रता लिएको थियो । सञ्जुले प्रहार गरेको बल बारमा लागेर फर्किएपछि ग्रेस दङ्मीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

तीन मिनेटपछि भारतले अर्को गोल ग-यो । सञ्जुले निकालेको पासमा सन्धिया रंगनाथनले गोल गरिन् । भारतले निकै राम्रो गोल गर्ने अवसर निकाल्दा श्रीलंकाले भने कुनै मुभ नै बनाउन सकेन । खेलको ३६ औं मिनेटमा भारतकी इन्दुमथी कठिरेसनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् । ४५ औं मिनेटमा संगीता बस्फोरेले पेनाल्टीबाट गोल गरिन् । सञ्जुले प्रहार गरेको बल श्रीलंकाकी डिफेन्डर रुसानी गुनावर्दनेले डिबक्सभित्र ह्याण्ड गरेपछि भारतले पेनाल्टी पाएको थियो । पहिलो हाफमै ४ गोल गरेको भारतले दोस्रो हाफमा १ गोल थप्यो । खेलको ४७ औं मिनेटमा रतनबाला देवी नोङमाइथेनले गोल गर्दै भारतलाई ५–० अग्रता दिलाइन् । उनले सन्धियाको पासमा गोल गरेकी थिइन् ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा थोरै सुस्ताएको भारतले अन्तिम समयमा आक्रामक खेल खेलेको थियो तर गोल गर्न भने असफल रह्यो । यसअघिका खेलमा भारतले माल्दिभ्सलाई ६–० ले हराएको थियो भने श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो ।
खेलपछि श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले भारत शक्तिशाली टिम भएकाले धेरै गोलअन्तरको पराजय भोग्नु परेको बताए । उनले भने, “यसअघि मेहनत गरेकै कारण हामी सेमिफाइलनसम्म पुग्न सकेका थियौं । भारतविरुद्धको खेलमा सुरुदेखि नै रक्षात्मक रुपमा उत्रने हाम्रो रणनीति सफल हुन सकेन ।” प्रशिक्षक अल्पोन्सुले सन् २०१६ पछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका कारण पनि श्रीलंकाको टोलीसँग अनुभवको कमी रहेको स्वीकार गरे ।
“आजको नतिजा हामीसँग अनुभव कम हुनुको कारक हो,” उनले भने, “अब सेमिफाइनलमा भने नेपालविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुनेछौं ।” जितपछि खुशी हुँदै भारतकी प्रशिक्षक मेमोल रोकीले ५ मिनेटभित्रमा गोल गरेर श्रीलंकालाई डोमिनेट गर्ने रणनीति सफल हुँदा फराकिलो अन्तरको जित निकाल्न सकिएको बताइन् । “रणनीति सफल हुँदा प्राप्त भएको नतिजाबाट म धेरै खुसी छु,” उनले भनिन्, “अब बंगलादेशसँग सेमिफाइनलमा प्रतिस्पर्धाका लागि तयारीमा लाग्छौं ।”
सेमिफाइनल बुधबार हुँदैछ । पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसँगसोही दिन ३ बजे प्रतिस्पर्धा गर्दैछ । ६ राष्ट्र सहभागी प्रतियोगिताबाट दुवै खेलमा पराजित हुँदै माल्दिभ्स र भुटान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । अन्य दिनको तुलनामा शनिबारदेखि दर्शकको चाप भने बढेको छ ।