कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
607

गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटकसम्म आफ्नो नाम दर्ता गराइसकेका नेपालकै पहिलो पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्न लागेको जानकारी गराएका छन् । उनले ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रो पटक विश्व रेकर्डको तयारी गरेका हुन् ।
खोटाङ स्थायी घर भएका सुनार करिब १५ वर्षदेखि निरन्तर पार्कर खेलको विकासमा लागेका छन् । आफ्नो एकमात्र चाहना पार्करलाई नेपालमा स्थापित गर्नु रहेको उनी बताउँछन् । जिम्न्यास्टिक हुँदै पार्करसम्म आइपुगेका उनले योभन्दा पहिला दुईवटा विधामा विश्व रेकर्ड राख्न सफल भैसकेका छन् । करिब सात वर्षदेखि नेपाल सशस्त्र प्रहरी बल खेलकुद शाखामा जिम्न्यास्टिक खेलाडीको रुपमा कार्यरत उनी आफ्नो नशा–नशामा पार्कर रहेको बताउँछन् ।

सशस्त्रबाटै राष्ट्रियस्तरको जिम्न्यास्टिक खेलेका उनले स्वर्ण पदक पनि पाइसकेका छन् । आफूले सन् २०१७ मा एक मिनेटको समयमा ३६० डिग्रीको रोटेसनमा १८ पटक ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप वाल इन’ गरेर पहिलो र २०१८ मा ३० सेकेन्डमा १६ पटक ‘ब्याक फ्लिप’ गरेर अर्काे रेकर्ड राख्न सफल भएको जानकारी दिए ।
गत जनवरीमा अमेरिकामा भएको पार्कर प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पुगेका सुनार विभिन्न देशका ८० प्रतियोगीमध्ये ८ आंै स्थानमा पुग्न सफल भएका थिए ।