मीनकुमार नवोदित
बुधवार, फाल्गुन २९, २०७५
476

विराटनगर-नेपालमै पहिलोपटक मंगलबारदेखि विराटनगरमा साफ महिला च्याम्पियनसिप सुरु भएको छ । उद्घाटन खेलमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको छ । नेपालको जितमा मञ्जलीकुमारी योन्जन, सावित्रा भण्डारी र कप्तान निरु थापामगरले समान १–१ गोल गरे । खेलको १३ औँ मिनेटमा मञ्जलीकुमारीले गोल गर्दै नेपाललाई पहिलो सफलता दिलाएकी थिइन् ।

त्यसको ३ मिनेटपछि सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले भण्डारीले गरेको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् ।
पहिलो हाफ २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । र, नेपालले खेल ३–० ले जित्यो ।
खेल अवधिभर नेपालले भुटानलाई दबाबमा राखेको थियो । एकपछि अर्को प्रहार गरेको नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । यता, भुटानले भने एक पटक पनि नेपालको पोष्टमा प्रहार गर्न सकेन । अब नेपालले समूह चरणको अन्तिम खेल चैत २ गते बंगलादेशसँग खेल्नेछ । अब बुधबारको खेलमा समूह ‘बी’का दुई टोली भारत र माल्दिभ्सले खेल्नेछन् ।
९ वर्षअघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ भने चिरप्रतिद्वन्द्वी भारतले चारैपटक उपाधि हात पारेको छ । एकपटक बंगलादेश उपविजेतामा भएको थियो । यसअघि प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेलको माध्यामबाट दक्षिण एसियामा साफले सद्भावना र एकताको नयाँ सन्देश दिएको बताए ।
संवेदनशील समाज निर्माणमा खेलकुदको पनि भूमिका रहने भएकाले खेलकुदको विकासका लागि सरकार लागिपर्ने उनले उल्लेख गरे । परिणामुुखी खेलकुदका लागि विद्यालय र गाउँस्तरबाट नै खेलकुदको विकास गरिनुपर्नेमा दाहालको भनाइ थियो । “स्वास्थ्य र सामाजिक सद्भावका लागि खेलकुदले महत्वपूर्ण खेलेको हुन्छ,” उनले भने, “विद्यालयस्तरदेखि नै खेलकुदको विकासमा सरकारले ध्यान दिनुपर्छ ।”
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले खेलकुदको माध्यमबाट प्रदेशलाई चिनाइने र १४ वटै जिल्लालाई खेलमय बनाइने बताए । एन्फासँग मिलेर चाँडै प्रदेश–१ मा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरिने उनले प्रस्ट्याए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, एन्फा कर्माछिरिङ शेर्पालगायतले सम्बोधन गरेका थिए ।