कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५
508

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ ।
‘हामीले आईसिसीबाट तलब पाउँदै आएका २१ खेलाडीसँग सम्झौता गरेर आईसिसीमा पठाएका थियौं । हिजो मात्र पैसा आएको छ,” राखेप सदस्य सचिव केशव विष्टले भने ।
सन् २०१७ र ०१८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरुसँग सम्झौता गरेर तलबका लागि आईसिसीमा पत्र पठाएको थियो । आईसिसीले ‘ए’ श्रेणीका लागि मासिक ३५ हजार, ‘बी’ श्रेणीका लागि २५ हजार र सी श्रेष्णीका खेलाडीलाई १५ हजार मासिक तलब उपलब्ध गराएको छ ।
‘ए’ श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । दुई वर्षको तलबएक मुष्ट लिँदा ‘ए’ श्रेणीमा पर्ने खेलाडीले जनही आठ लाख ४० हजार पाउनेछन् ।
त्यसैगरी श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । उनीहरुले दुई वर्षको एकमुष्ठ छ लाख पाउनेछन् ।
यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनिल धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारी छन् । उनीहरुले मासिक १५ हजारका दरले दुई वर्षको तलब तीन लाख पाउनेछन् ।
राखेपका अनुसार टोली व्यवस्थापक रमन शिवाकोटी र मुख्य प्रशिक्षक जगत टमाटाले पनि दुई वर्षको पारिश्रमिक पाउनेछन् । उनीहरुको पारिश्रमिक खुलाइएको छैन ।
क्यान विवादले उग्ररुप लिँदै गर्दा आईसिसीले २०७३ वैशाखदेखि क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाउँदै आएको छ । विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

खेलाडी छनोट खुला प्रतिस्पर्धाबाट
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न उमेर मूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल महासंघ (साफ) र एशियाली फुटबल महासंघ (एएफसी)द्वारा आयोजना हुने विभिन्न उमेर समूहको प्रतियोगितामा बलियो उपस्थिति जनाउन आगामी फागुनको पहिलो साताबाट खेलाडीको छनोट खुल्ला प्रतिपस्र्धाबाट गरिने जानकारी दिए ।
उमेर समूहको दक्षिण एशियाली फुटबल प्रतियोगिता र एशियाली फुटबल प्रतियोगिता खेल्न एन्फाले खेलाडीको खुल्ला छनोट गर्नेछ । “खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट हुने टोलीले प्रतियोगितामा नतिजा सोचेभन्दा राम्रो आउने भएकाले यो कार्यक्रम शुरु गर्न लागेका हौँ,” महासचिव तुलाधरले भने ।
एन्फाका अनुसार उक्त प्रतियोगिताहरुमा सभागिता जनाउने खेलाडी र एन्फा एकेडेमीका लागि आवश्यक खेलाडी छनोट आगामी फागुनको पहिलो सातादेखि शुरु गर्नेछ ।
एन्फामा आबद्व जिल्ला फुटबल संघलाई पत्र लेख्दै एन्फाले उमेर समूहका खेलाडी छनोट गरिने जनाउँदै खेलाडीको प्रशिक्षण शुरु गर्न समेत आग्रह गरेको छ । महासचिव तुलाधरका अनुसार एन्फामा उमेर समूहको प्रतियोगिता खेल्न करिब ११ खेलाडी रहेका छन् । अन्तिम छनोटमा एन्फा र जिल्लाबाट आएका खेलाडीलाई समावेश गरिनेछ ।

 

सातामा धेरै पढिएको