कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५
522

पाकिस्तानविरुद्धको ट्वान्टी–२० सिरिज क्लीन स्वीप गरेको नेपाली नेत्रहीन महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । पाँच ट्वान्टी–२० सिरिज आफ्नो पक्षमा पारेको टोली बिहीबार अपरान्ह स्वदेश फर्किएको हो ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट तथा नेत्रहीन क्रिकेट संघका अधिकारीले विमानस्थलमा स्वागत गरे ।

दुई साताअघि पाकिस्तान गएको टोलीले पाँच ट्वान्टी–२० सिरिजमा सहज जित निकालेको थियो । लाहोरमा भएको पहिलो खेलमा १० विकेटको जित निकालेको नेपालले तेस्रो र चौथो खेलमा समान १० विकेटको जित दर्ता गर्दा तेस्रो खेलमा ९ विकेटले विजयी भएको थियो । दोस्रो खेल भने वर्षाले रद्द गरिएको थियो ।
दुई साताको अभ्यासपछि रिजन प्रजुको प्रशिक्षण तथा भगवती भट्टराईको कप्तानीमा माघ १२ गते पाकिस्तान पुगेको टोलीले सहज जित निकाल्दा पहिलो पटक टोलीमा स्थान बनाएका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कप्तान भगवती भट्टराईले आफ्नो जितले समाजमा दृष्टिविहिनप्रतिको दृष्टिकोण परिवर्तन हुने विश्वास व्यक्त गरिन् ।

संयुक्त राष्ट्रसंघद्वारा खुसी व्यक्त
संयुक्त राष्ट्रसंघले नेपाल तथा पाकिस्तानका महिला दृष्टिविहीन क्रिकेट खेलाडीबीच भएको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली टोलीले पाएको सफलताप्रति खुसी व्यक्त गरेको छ । सिरिज जितेर नेपाली महिला टोली स्वदेश फर्केकै दिन बिहीबार नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले विज्ञप्ति जारी गर्दै खुसी व्यक्त गरेको हो ।
“नेपाली महिला दृष्टिविहीन क्रिकेट टोली यस सिरिजमा विजयी भएर आज (बिहीबार) ट्रफीसहित घर फर्केकोमा बधाइ दिन पाउँदा युनिसेफ, युएनडीपी, युएनएफपीए, युएनवुमेन र स्वीस सरकार विकास सहयोग निकै हर्षित छ,” संयुक्त राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यी प्रतियोगिताहरूले महिला दृष्टिविहीन क्रिकेट खेलाडीहरूको सीप वृद्धि, आत्मबल विकास र परिवर्तनका वाहकका रुपमा काम गर्नका लागि उनीहरूको सशक्तीकरणमा सहयोग पु-याउन सक्यो भन्ने विश्वास लिएका छौं ।”
नेपाली महिला दृष्टिविहीन क्रिकेट टोलीको प्राप्त गरेको विजयले खेलकुदले अपाङ्गता भएका व्यक्तिहरुको सीप र क्षमतालाई मुख्य रुपमा प्रकाश पारेर उनीहरु विरुद्धको हेय र विभेद कम गर्न सहयोग गरेको राष्ट्रसंघले जनाएको छ । अपाङ्गता भएका महिला तथा बालिकाहरूले प्रायः बहुसामाजिक अवरोधहरूको सामना गर्नुपर्ने र नेपालभरि पनि अपाङ्गताका आधारमा विभेद हुने गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०१८ मा प्रकाशित युएनएफपिएको रिपोर्ट अनुसार अपाङ्गता भएका महिलाहरूले अपाङ्गता नभएका महिलाभन्दा झण्डै १० गुणा बढी लैङ्गिकतामा आधारित हिंसाको सामना गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ ।
अपाङ्गता भएका महिला विरुद्धका नकारात्मक धारणाबाट समाजलाई मुक्त बनाउने यस प्रयासमा नेपालले पछिल्लो समयमा उल्लेख्य प्रगति गरेको समेत राष्ट्रसंघले जनाएको छ । विशेषगरी नयाँ संविधान र अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी ऐन २०७४ लगायत धेरै कानुनमा सुधार गरिएको राष्ट्रसंघले औल्याएको छ ।


सातामा धेरै पढिएको