कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
568

नेपालगन्ज-आगामी फागुनमा नेपालगन्जमा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तत्काल ४३ करोड रुपैयाँ आवश्यक रहेको प्रदेश नम्बर ५ खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताका लागि भौतिक संरचना निर्माण गर्ने भनि विनियोजन गरिएको बजेट नै अर्थ मन्त्रालयले समयमा नपठाउँदा निर्माणका कामहरु अगाडि बढ्न नसकेकोले तत्काल ४३ करोड रुपैयाँ आवश्यक रहेको प्रदेश नम्बर ५ खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताएका छन् ।
अर्थ मन्त्रालयले तत्काल सो रकम नपठाउने हो भने निर्माणाधिन अवस्थामा रहेको विभिन्न भौतिक संरचनाको काम रोकिने र समयमा प्रतियोगिता समेत हुन नसक्ने अवस्था आउने उनले जनाए । “खेलकुद प्रतियोगिता र भौतिक संरचना निर्माणका लागि तत्काल ४३ करोड रुपैयाँ नआए काम गर्न सकिँदैन,” अध्यक्ष ओलीले भने, “प्रतियोगिताको मिति नजिकिँदै गर्दा पनि अर्थ मन्त्रालयबाट रकम आउने कुनै सुनिश्चितता छैन ।”

यस्तो अवस्थाले काम नचल्ने हुँदा बजेट माग गर्नका लागि राजधानी जानुपर्ने अवस्था आएको अध्यक्ष ओलीको भनाइ छ । अर्थ मन्त्रालयले बजेट नपठाउँदा दुई वर्षअघि खाली हात प्रतियोगिताको तयारी गरेको स्मरण गर्दै उनले चालू आवदेखि मात्रै बजेट आउन थालेको भएपनि निकै अपुग पठाइएको बताए । “बजेट अभावकै कारण बाँके र बर्दियामा निर्माण भैरहेका दर्जन बढी भौतिक संरचनाहरु अलपत्र अवस्थामा परेका छन् । बजेट पठाउन राष्ट्रिय खेलकुद परिषद्सँग पटक–पटक आग्रह गर्दा पनि बजेट आएको छैन,” अध्यक्ष ओलीले बताए ।
बजेट अभावकै कारण मुख्य कार्यक्रम र खेलस्थल नेपालगन्ज रंगशालाको निर्माण कार्य पूरा हुने अवस्था नरहेकाले अब राखेपको बोर्ड बैठकबाट प्रतियोगिताको मिति केही दिन पर सारेर परिवर्तन गर्न आग्रह गरिने उनले जनाए ।
भीआईपी प्याराफिटमा कोठाहरू निर्माण गर्ने, फिनिसिङ गर्ने लगायतका कामहरू बाँकी राखेर भए पनि प्रतियोगिता आयोजना गर्न सकिने प्रदेश नम्बर ५ खेलकुद विकास समितिले जनाएको छ । बजेट निकासाका लागि अर्थ मन्त्रालयमा निवेदन दिइसकिएकाले छिटै निकासा हुने विश्वास पनि समितिले गरेको छ ।
उता, राष्ट्रिय खेलकुद परिषद्ले बजेट आउन केही समय ढिला भएपनि बजेट आउने र कामहरु सम्पन्न हुने जनाएको छ । “हामीलाई ४३ करोड रुपैयाँ तत्काल आवश्यक हो । १७ करोड ८३ लाख रुपैयाँ निकासा भइसकेको छ । अरू रकम पनि चाँडै निकासा हुन्छ । सरकारको नीति तथा कार्यक्रममा परेको बजेट भएकोले निकासामा समस्या हुनु हुँदैन,” राखेपका सदस्य सचिव केशर बहादुर विष्टले भने ।
भौतिक संरचनाको निर्माण र प्रतियोगिताको थप तयारीका लागि हरेक साताजसो राष्ट्रिय खेलकुद परिषद्का विभिन्न पदाधिकारीहरु बारम्बार नेपालगन्ज आइरहेका छन् । उनीहरु सबैले जसरी पनि फागुनमा प्रतियोगिता सम्पन्न गर्ने दावी गरी रहेपनि भौतिक संरचना निर्माणको कामको प्रगति हरेर फागुनमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरा अझै अनिश्चित नै छ ।