कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५
1061

दैनिक रूपमा आवश्यक पर्ने खानेपानीको समस्या भोग्दै आएकी गणेशस्थानकी रुपा तामाङले आकाशेपानीलाई संकलन गर्ने प्रणाली जडान गरेपछि पानीको अभावबाट मुक्ति पाइन् । उनले बलेसीको पानी संकलन गरी कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा तालिम पनि पाएकी छिन् । पानी संकलनपछि तरकारीखेती समेत सुरु गरेकी उनले अहिले तरकारी बेचेर थप आम्दानी गर्न सफल भएकी छिन् ।
अर्का स्थानीय वीरबहादुर तामाङले स्थानीयस्तरमा उपलब्ध भएका स्रोत साधनको वातावरणमैत्री रूपमा प्रयोग गरी आफ्नो जीवनस्तर उकास्न सफल भए । जैविकविधि अपनाई बेमौसमी गोलभेंडा उत्पादन गरेका उनी समाजमा सफल कृषकको परिचय बनाउन सफल भएका छन् ।

जिल्लाको बेथाञ्चोक गाउँपालिकाका सबै वडालाई वातावरणमैत्री गाउँपालिका बनाउने कार्य अघि बढेपश्चात रुपा तथा वीरबहादुरजस्तै धेरैको जीवनस्तरमा परिर्वतन आएको छ । घरायसी प्रयोजनसँगै कृषि कार्यमा वातावरणमैत्री विधि अपनाई वातावरण संरक्षणका कार्य सञ्चालन गरेको ग्रामीण प्रविधि केन्द्रका कार्यक्रम अधिकृत सुवास लामिछानेले बताए । विभिन्न सामाजिक संस्थाको सहयोगमा वातावरणमैत्री गाउँ निर्माण अभियान सञ्चालन भएको हो । कार्बन उत्सर्जन कम गर्ने समुदाय निर्माण गर्ने विकास केन्द्रित एउटा एकीकृत अवधारणासहित परियोजना सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए । परियोजना कार्यान्वयनका लागि जिल्ला समन्वय समिति काभ्रेको समन्वयमा जिल्लाका साझेदार संस्थाहरू घट्टधनी संघ काभ्रे तथा जिल्ला कृषि विकास कार्यालय काभ्रेसँगै गाउँपालिकाले समन्वय गरेको उनले बताए
हाल परियोजनाले फलामे सुधारिएको चुलो वितरण, माटोबाट बनेको घरायसी चुलो, सौर्य विद्युत् प्रणाली, गोबरग्यास प्लान्ट मर्मत सम्भार, सुधारिएको पानी घट्ट आकाशेपानी संकलन, प्लास्टिक टनेलखेती, लघु सिञ्चाइ, पशुमलमूत्र व्यवस्थापन, वृक्षारोपण, फोहर व्यवस्थानलगायतका कार्य सञ्चालन गर्दै आएको छ । बिहीवार परियोजनाले स्थानीय अगुवाहरूका लागि वातावरणमैत्री अवधारणाबारे १ दिने अनुशिक्षण सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं २ का अध्यक्ष भगवान घिमिरेले सबै दैनिक तथा आर्थिक क्रियाकलाप वातावरणमैत्री हुनुपर्ने बताए ।