कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५
1666

सर्वोच्च अदालतले उज्जन श्रेष्ठ हत्याकाण्डमा हाल कारागारमा रहेका बालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयको फाइल मगाउने आदेश गरेको छ । सोमबार न्यायाधीशहरु मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले रिटमाथि सुनुवाइ गर्दै सजाय माफी दिने निर्णय गर्नुको आधार र कारण सरकारी पक्षले बहसमा पेश गर्न नसकेको भन्दै सक्कल फाइल हेर्ने निर्णय गरेको हो ।
सर्वोच्चले मंगलबार कार्यालय समय सुरु हुनेबित्तिकै महान्यायाधिवक्ता कार्यालयमार्फत् गृह मन्त्रालयमा रहेका फाइल पेश गर्न आदेश गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका ढुंगेललाई माफी दिन लागेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । तत्कालिन माओवादीका नेता ढुंगेल श्रेष्ठ हत्या अभियोगमा हाल कारागारमै छन् । सरकारले ढुंगेललाई गणतन्त्र दिवसका दिन मंगलबार छाड्ने सरकारको तयारी छ ।