कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५
706

नेपाली सेनाले संविधान विरोधि तत्व मुलुकका लागि प्रमुख चुनौतीका रुपमा रहेको निष्कर्ष निकालेको छ । पृतनापति समन्वयात्मक बैठकमा सहभागी उच्च सैनिक अधिकारीहरुले संविधानको विरोध गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने समूह मुलुकका लागि प्रमुख चुनौती रहेकोले त्यसै अनुसार आवश्यक कदम चाल्नुपर्ने धारणा राखेका हुन् ।
सातै प्रदेश र उपत्यका सहित ८ वटै पृतना मुख्यालयका पृतनापति सहभागी २ दिने बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आ–आफ्ना क्षेत्रको सुरक्षा अवस्था, चुनौती र भावी रणनीतिका बारे जानकारी लिएका थिए ।
राजनीतिको आवरणमा संविधानको विरोध गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मुलुक विरोधी अभियान चलाउँदै आएको सीके राउत समूह, पूर्वी नेपालका जातिगत समूह र तराई–मधेसमा सक्रिय सशस्त्र समूह आगामी दिनमा चुनौतीका रुपमा देखा पर्ने सैनिक अधिकारीहरुले औंल्याएका छन् । संविधान संशोधनको माग राख्दै आएका मधेसवादी दलले माग पूरा नभए पुन आन्दोलनमा जानसक्ने अवस्था र त्यसबाट उत्पन्न परिस्थितिलाई पनि सेनाले मूख्य चुनौतीका रुपमा लिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार जंगी अड्डा स्थित कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले चुनौती र सुझाव सहितको कार्यपत्र पेश गरेको जनाएको छ । आन्तरिक र बाह्य सुरक्षा चुनौतीको समीक्षा र पुनरावलोकनमा पनि छलफल भएको थियो ।