कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५
589

काभ्रेको पाँचखाल ४ बोहोरे दोभानको जंगलमा नक्कली अमेरिकी डलरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । दोभानको जंगलमा नक्कली डलर देखाई स्थानीयलाई प्रलोभनमा पार्दा जिल्ला प्रहरीको टोलीले ती युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २३ का बिनोद तामाङ छन् । उनको साथमा रहेको बा ७२ प ३०९६ नम्बरको मोटरसाईकल र नक्कली डलरसमेत प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक रविराज थपलियाको टोलीले लुटेरालाई पक्रन ५ राउण्ड फायरिङ समेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी महेन्द्र मरासैनीले जानकारी दिए । प्रहरी पुग्ने वित्तिकै नक्कली डलर बोक्ने तामाङले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले फायरिङ खोलेको थियो । प्रहरीले विनोद तामाङ पक्राउ परे पनि समूहमा रहेका केहि भने भागेको प्रहरीले जनाएको छ । मरासिनीका अनुसार ठगी र कारोबारमा अन्य ठूलो गिरोह पनि संलग्न भएकाले खोजी भइरहेको छ । तामाङलाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।