मातृका दाहाल
मंगलबार, जेठ १५, २०७५
1649

एक वर्षभित्र तक्मा लिन नआए खारेज

सरकारले विभिन्न व्यक्तिहरूलाई प्रदान गर्ने मानपदवी-अलंकार (तक्मा) लगायतका सम्मान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ । त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ ।
२०६२-०६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो । जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट प्रदान गरिँदै आएकोमा गणतन्त्रअघि र त्यसपछिको अवधिमा प्रदान गरिएका करिब ३८ हजार तक्मा गृह मन्त्रालयमा बेवारिसे अवस्थामा छन् । बेवारिसे अवस्थामा रहेका धेरैजसो तक्मा राजतन्त्र कालमा सिफारिस गरिएका छन् ।
यी तक्मा निर्माणमा सरकारले १ अर्बको हाराहारीमा खर्च गरेको गृह मन्त्रालयकै अधिकारीको भनाइ छ । हरेक वर्ष विभूषण, मानपदवी, अलंकारलगायतका तक्मा निर्माणमा मात्रै वार्षिक १० देखि १५ करोड रुपैयाँ खर्च हुँदै आएको छ ।
“राष्ट्रिय जीवनमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई हरेक वर्ष विभूषण, अलंकार, पदकलगायतका मानसम्मान प्रदान गरिँदै आएको छ,” गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, “तर राज्यका तर्फबाट प्रदान गरिएका थुप्रै मानपदवी सम्बन्धित व्यक्ति तथा उनीहरूका परिवारले लिन आएका छैनन् ।” कतिपयलाई पटकपटक पदवी ग्रहणका लागि ताकेता गर्दा पनि ‘फुर्सद छैन, पछि आउँला’ भन्ने जवाफ आएको गृह मन्त्रालयले जनाएको छ । प्रवक्ता सुवेदीका अनुसार राज्यका तर्फबाट प्रदान गरिएका मानपदवी सरकारले रद्द गर्न सक्ने वा सम्बन्धित व्यक्तिले स्वेच्छाले फिर्ता गर्नसक्ने कानुनी व्यवस्था छ ।
“राज्यले ठूलो धनराशि खर्च गरेर दिइएका मानपदवी लिन नआउनु सम्मानप्रतिकै अपमान पनि हो,” प्रवक्ता सुवेदी भन्छन्, “अब क–कसले पदवीहरू लिएका छैनन्, त्यो विवरण सार्वजनिक गरेर व्यवस्थापनका लागि आवश्यक निर्णय लिने चरणमा छौं ।” त्यसैका लागि गृह मन्त्रालयले ‘विभूषण मापदण्ड २०७५’ स्वीकृतिको चरणमा रहेको सुवेदीले स्पष्ट पारे । मापदण्ड पारित भइसकेपछि पुराना विभूषण व्यवस्थापन र नयाँ पदवी सिफारिस तथा प्रदानसम्बन्धी विषयलाई पारदर्शी र व्यवस्थित बनाइने उनको भनाइ छ ।

 “राज्यबाट प्रदान गरिएका मानपदवी लिन नआउनु सम्मानप्रतिकै अपमान पनि हो । अब क–कसले पदवीहरू लिएका छैनन्, त्यो विवरण सार्वजनिक गरेर व्यवस्थापनका लागि आवश्यक निर्णय लिन्छौं ।रामकृष्ण सुवेदीप्रवक्ता, गृह मन्त्रालय

३ वर्षअघिसम्म ३६ हजार ६ सय ८० थान मानपवदी-अलंकार तथा पदक सम्बन्धित व्यक्ति लिन नआएपछि गृह मन्त्रालयमै थन्किएकोमा त्यसपछिका २ वर्षको समेत जोड्दा यो संख्या ३८ हजारको हाराहारीमा पुगेको छ । “क–कसका नाममा कति पदक छन्, त्यसबारे निक्र्यौल गरेर छिट्टै टुंगोमा पुग्छौं,” प्रवक्ता सुवेदी भन्छन्, “पदकका हकदार कतिपयको ठेगाना नखुलेको, कतिको मृत्यु समेत भइसकेको तथा कतिलाई बोलाउँदा पनि नआएका कारण वर्षेनी पदक गृह मन्त्रालयमा थन्किएका छन् ।”
यसैबीच सरकारले गणतन्त्र दिवस (जेठ १५) गते घोषणा गर्दै आएको मानपदवी तथा अलंकार यो वर्षदेखि संविधान दिवसमा सार्वजनिक गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार यसअघि जेठ १५ गते प्रदान गरिँदै आएको विभूषण संविधान दिवसका दिन घोषणा गरेर नेपाली नयाँ वर्ष वैशाख १ गते राष्ट्रपतिबाट प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।