प्रकाश पाक्साँवा
सोमवार, जेठ १४, २०७५
689

छथर गाउँपालिका–५ ओख्रेका नोचन्द्र पौडेलको घर ढुंगैढुंगाको भीरमुनि छ । भीरैको छेउमा घर हुनु जोखिम मानिन्छ । तर, पौडेलले आफ्नो घर नजिकैको भीरलाई सदुपयोगमा ल्याएका छन् । भीरको ढुंगाको आड लिएर उनले व्यावसायिक मौरीपालन गरेका छन् ।
उनको घरको चारैतिर मौरीका घारै घार छन् । विगत १० वर्षदेखि मौरी पाल्दै आएका पौडेलले मह बेचेरै राम्रो आम्दानी लिँदै आएका छन् । ४७ वर्षीय नोचन्द्रको दैनिकी मौरीको स्याहारसुसार गर्नु हो । उनी बिहानदेखि साँझसम्म मौरीको हेरबिचारमा तल्लिन हुन्छन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएपछि उच्च शिक्षा हासिल गर्न नपाएका पौडेलले गाउँमा बसेर सरकारी जागिर सम्भव नभएपछि व्यावसायिक मौरीपालनतर्फ लागेको बताए । पाँचवटा घारबाट व्यवसाय सुरु गरेका पौडेलसँग अहिले ३० घार मौरी छन् । मौरीबाट घरको गर्जो टार्न र चाडबाड मान्न पुगेको उनले बताए । “गतवर्ष डेढ लाख रुपैयाँको मह बेचें,” उनले भने, “हरेक वर्ष एक लाखको भन्दा कमको बेचेको छैन ।” जाडो समयमा मौरीको स्याहार बढी गर्नुपरे पनि तातो याममा भने खासै मेहनत गर्नु नपर्ने पौडेल बताउँछन् ।
कृषि र पशुपालन व्यवसाय गरेर जीवन गुजारा चलाउँदै आएका पौडेललाई मौरीपालनले थप टेवा पु¥याएको छ । मौरी पाल्न बारीमा लगाइने मकै, कोदो, गहुँ, जौमा जति मेहनत गर्नु नपर्ने उनको भनाइ छ । एक छोरा, दुई छोरी र श्रीमतीसहितको पाँच जनाको परिवारको खर्च टार्न मौरीपालनले सहयोग गरेको पौडेल बताउँछन् । उनले भने, “छोराछोरीको पढाइ खर्च र अन्य घरायसी काममा पनि खर्च टार्न मह बिक्री गरेर पुगेको छ ।”
कृषि विकास कार्यालय तेह्रथुमले २०६२ सालमा सञ्चालन गरेको व्यावसायिक मौरीपालन तालिममा सहभागी बन्ने अवसर पाएपछि पौडेललाई मौरी पाल्ने सोच आएको हो । सो तालिमपछि पनि पटक–पटक मौरीपालनसम्बन्धी तालिम लिएको उनले बताए । मौरीपालनसम्बन्धी धेरै ज्ञान बटुलेका पौडेल मौरीको रानी उत्पादन गर्नसमेत दक्ष भएका छन् । “अरु व्यक्ति मौरीसहितको घार किन्न अन्यत्र जान्छन्, तर म आफैँ मौरी उत्पादन गर्छु,” उनले भने ।
पौडेलले आधुनिक र परम्परागत दुवै शैलीका मौरी पालेका छन । ती घारमा सिजनअनुसारको मह उत्पादन हुने उनको भनाइ छ । “कुनै समय परम्परागत घारभन्दा दोब्बर मह आधुनिक घारबाट उत्पादन हुन्छ, कुनै बेला परम्परागतमा नै धेरै हुन्छ,” उनले भने ।
पौडेलले पालेका मौरीबाट वार्षिक रुपमा तीन पटक मह उत्पादन हुन्छ । मह उत्पादन गर्न गाह्रो भए पनि बजारको समस्या भने नरहेको उनको भनाइ छ । धरान, विराटनगर, काठमाडौंदेखिका मानिस मह खरिद गर्न पौडेलको घरसम्मै आउने गरेका गरेका छन् ।