कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५
1159

छाउपडीका कारण अछाम जिल्ला निकै बदनामी भइसकेको छ । महिला महिनावारी भएका बेला घरबाट टाढा निर्माण गरिएका सानासाना गोठमा बस्नुपर्ने सामाजिक कुप्रथाका कारण महिलाहरू जोखिममा समेत रहेका छन् ।
पछिल्लो १० वर्षको तथ्यांकअनुसार महिनावारी भएका बेला छाउगोठमा बसेकै कारण १० जना महिलाा तथा किशोरीले मृत्युवरण गर्नुपरेको दुःखद अवस्था छ । यसैलाई मध्यनजर गर्दै अछामसहित प्रदेश नम्बर ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लामा छाउपडी कुप्रथाविरुद्ध अभियान सञ्चालन भइरहेको छ ।

विभिन्न स्थानीय तहले पनी छाउपडी सामाजिक कुप्रथाविरुद्ध अभियान सञ्चालन गरेका छन् । अछामको रामारोशन गाउँपालिकाले भने छाउपडी कुप्रथाविरुद्ध फरक र नयाँ अभियान सञ्चालन गरेको छ । अछामका अन्य स्थानीय तहभन्दा छाउपडी कुप्रथा र जातीय छुवाछुत मान्ने प्रचलन एकदमै न्यून रहेको यस गाउँपालिकामा छाउपडी कुप्रथालाई पूर्णरूपमा हटाउनका लागि गाउँपालिकाले ‘देवता बाहिर छाउपडीभित्र’ अभियान सञ्चालन गरेको छ । धेरैजसो महिला छाउ भएका बेलामा पनि घरमै बस्ने गरेको भए पनि सबैजसो वडामा देवी देवताका माण्डा भएका घरमा भने गोठमै बस्ने गरेको पाइएकाले यस्तो अभियान चलाइएको गाउँपालिका अध्यक्ष झंकर साउद भास्करले बताए ।
उनले भने, “गाउँपालिकाबाट सुक्ष्म अध्ययन गर्दा महिला छाउ भएका बेला गोठमा बस्नुको मूल कारण घरमा राखिएका देवी देवताका माण्डा नै भएकाले तिनलाई ब्यवस्थापन गर्न बाहिर सानासाना मन्दिर बनाउने र महिला छाउ भएका बेलामा घरमै बस्ने ब्यवस्था गर्न यो अभियान चलाएका हौं ।”
घरमा भएका देवता र देवीलाई छुट्टै सानो मन्दिर बनाएर राख्न पाएमा महिला महिनावारी भएका बेला पनि घरमै बसाल्ने कुरामा स्थानीयवासी पनि सहमत रहेको अध्यक्ष साउदले बताए । छाउपडीको मूल समस्या धार्मिक आस्था भएका कारण धार्मिक कुरालाई ब्यवस्थापन गर्दै कुप्रथालाई अन्त्य गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । गाउँपालिकाले हालसम्म गरेको अध्ययनअनुसार रामारोशनका ७ वटै वडामा न्यूनतम ३० देखि ५० सम्म देवी देवताका माण्डा घरमा राखिएको पाइएकाले त्यत्तिकै संख्यामा ससाना मन्दिर बनाउन आगामी आवमा बजेट विनियोजन गरिने छ । “देवी देवतालाई ब्यवस्थापन गर्न न्यूनतम १० हजारदेखि ३० हजार लागत लाग्ने गरी एकै डिजाइनका २५० देखि ३५० वटा मन्दिर गाउँपालिकाभरि निर्माण गरिनेछ ।” गाउँपालिका अध्यक्ष साउदले भने, “यसबाट छाउपडी समस्या समाधान मात्रै हुने नभई यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्नेछ ।”
रामारोशनमा घरमा देवी देवताका माण्डा भएको ठाउँमा मात्रै महिला महिनावारी भएका बेला छाउगोठमा बस्ने गरेको पाइएकाले धार्मिक कट्टरताबाट सिर्जित छाउपडी समस्या समाधानका लागि गाउँपालिकाले यो नीति अवलम्बन गरेको अध्यक्ष साउदले बताए । धार्मिक ब्यवस्थापन भएपछि छाउपडी कुप्रथा स्वतः हटेर जाने उनले बतााए ।
-होम साउद


सातामा धेरै पढिएको