कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५
2048

पछिल्लो समयमा नेपाली अलैंचीको प्रशोधन प्रविधि र गुणस्तर चर्चाको विषय बनेको छ । अलैंची व्यवसायीहरूले अलैंचीको उत्पादन र प्रशोधनको विधि परिवर्तन गर्न सुझाव दिएका छन् । गुणस्तरमा सुधार नभए अलैंचीको व्यवसायी धरासायी हुने चेतावनी पनि व्यवसायीले दिने गरेका छन् ।
तर, व्यवसाय र सरोकारवालाहरूले जति धेरै सल्लाह दिए पनि कृषकले भने अलैंची सुकाउने परम्परागत भट्टी छोड्न सकेका छैनन् । लामो समय लगाएर आधुनिक भट्टीमा सुकाए पनि सोअनुसारको मूल्य नपाएको कृषकको गुनासो छ । मकालु गाउँपालिका–५ नुमका कृषक हर्कजित राईले दुई वर्षअघिदेखि आधुनिक भट्टीबाट सुकाएको अलैंचीको मूल्य र परम्परागत तरिकाबाट सुकाएको अलैंचीको मूल्य उस्तै भएकाले अहिले पुरानै भट्टीमा फर्किएको बताए । आधुनिक भट्टीमा सुकाउँदा धुँवा कम लाग्ने र राम्रो रंगको अलैंची निस्के पनि सुक्न लामो समय लाग्ने अलैंची कृषक राईको भनाई छ । परम्परागत भट्टीमा सुकाउँदा करिब ३६ घण्टामा सुक्ने अलैँची आधुनिक भट्टीबाट सुक्न करिब एक हप्ता लाग्ने गरेको छ । लामो समय लगाएर सुकाएको राम्रो अलैंचीको मूल्य पनि अन्यको जस्तै भएकाले किसानले परम्परागत भट्टीमै अलैंची सुकाउने गरेका हुन् ।

परम्परागत भट्टीमा एकैपटक १२/१५ मन अलैंची एकैपटक सुकाउन सकिन्छ । तर, डबल ड्रम भए पनि सुधारिएको चुल्होमा एकपटकमा २ देखि ४ मन मात्र अलैंची सुकाउन सकिने र समय पनि हप्तौं लाग्ने भएकाले कृषकलाई सुधारिएको वा आधुनिक चुलो प्रयोगमा आकर्षित गर्न कठिनाइ भएको अलैंचीको क्षेत्रमा कार्यरत उन्नति परियोजनाका संखुवासभा प्रमुख दिपेन्द्र पन्तको भनाइ छ ।
मकालु गाउँपालिकामा मात्र नभएर अन्य स्थानका कृषकले पनि पुरानै शैलीको भट्टीमा अलैंची सुकाउने गरेका छन् । मूल्य उस्तै भएकाले पुरानै शैली छोड्न नसकेको किसानहरू बताउँछन् । मेहनत गरेर अलैंची सुकाए पनि मूल्य नबढ्ने हो भने कृषक थप मारमा पर्ने सिलिचोङ गाउँपालिका–३ ताम्कुका कृषक तुलाबहादुर कुलुङले बताए । लामो समय आधुनिक भट्टीमा सुकाएर लगेको अलैंची पनि परम्परागत भट्टीमा सुकाएकोसँगै मिसाएर त्यही मूल्यमा व्यापारीले बजारसम्म पुराउने गरेको कृषक कुलुङको भनाइ छ ।
पछिल्लो समय संखुवासभामा गुणस्तरसम्बन्धी कुनै ज्ञान नभएका बिचौलियाले अलैंची संकलन गरिरहेका छन् । कृषकको अलैंची वास्तविक व्यापारीसम्म प्रत्यक्ष पुराउन नसक्दा गुणस्तरयुक्त अलैंचीले पनि उचित दाम पाउन नसकेको हो । गुणस्तरयुक्त सामानले बढी मूल्य पाउनुपर्छ भन्ने मागलाई संस्थागत वा सामूहिक रुपमा अघि बढाउन नसक्दा बिचौलियाले भनेकै मूल्यमा अलैंची बिक्री गर्न किसान बाध्य छन् ।
अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठले राम्रो गुणस्तरको अलैंचीलाई केही हदसम्म राम्रो मूल्य दिने गरेको बताए । धुँवारहीत रातो रंगको अलैंचीलाई प्रतिमन तीनदेखि चार हजार रुपैयाँसम्म बढी मूल्य दिने गरिएको श्रेष्ठको भनाई छ । तर, स्थानीय व्यापारीले गुणस्तरयुक्त र गुणस्तरहीन अलैंचीलाई एउटै मूल्य दिने गरेकाले किसानहरू आधुनिक भट्टी प्रयोग गर्न अग्रसर नभएको हुनसक्ने उनले बताए । कतिपय किसानले तौल बढाउने बहानामा सुकेको अलैंचीमा पानी छर्कने र ओसिलो ठाउँमा राख्ने हुँदा गुणस्तर पनि खस्कने गरेको अलैंची व्यवसायी संघ संखुवासभाका अध्यक्ष छत्रमणि काफ्ले बताउँछन् । केही कृषकको व्यक्तिगत स्वार्थका कारण गुणस्तर कायम नभएपछि तुलनात्मक रूपमा स्वतः मूल्य घट्न जाँदा अरू किसानसमेत मारमा पर्ने गरेको उनले बताए ।
अलैंची संखुवासभाको प्रमुख नगदेबाली हो । जिल्लामा २ हजार ७ सय ९० हेक्टरमा अलैंची खेती गरिएको जिल्ला कृषि विकास कार्यालय संखुवासभाले जनाएको छ । आर्थिक वर्ष ०७५/७६ मा संखुवासभालाई अलैंची जोनका रुपमा विकास गर्न विभिन्न राहतमुखी कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रविलाल शर्माले बताए ।
-कृष्णराज शाक्य