कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५
1281

वर्षौंदेखि गाउँघरमा बाँदरले दुःख दिने क्रम नरोकिएपछि धनकुटा नगरपालिकाले बजेट नै छुट्याएर बाँदर स्थानान्तरणको काम थालेको छ । किसानले लगाएको बाली बाँदरले खाइदिने र नोक्सान गर्ने कार्य नरोकिएपछि धनकुटा नगरपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट छुट्याएरै बाँदर समात्ने अभियान चलाएको हो ।
किसानले लगाएका अन्नबाली, तरकारी र फलफूल जोगाउन कुनै उपाय नलागेपछि नगरपालिकाले नै ‘मंकी क्याचर’को यो समूह बोलाएर जाल थाप्दै बाँदर समातेर स्थानान्तरणको काम गरेको धनकुटा नगरपालिका–६ का वडा अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । “निर्वाचनका समय किसानसँग आफूहरूले गरेको प्रतिबद्धता पूरा गर्न बाँदर स्थानान्तरण गरेका हौं,” उनले भने । खेतीका लागि समयमै मल, सिँचाइ, रोगकीराको नियन्त्रणका लागि औषधि उपकरण र प्राविधिक सेवाका साथै कामदार जनशक्ति अभावमा दुःखले निर्वाहमुखी कृषि पेसा गर्दै आएका किसानलाई बाँदरको आतंकले झनै सताएको थियो ।
यहाँका किसानले वर्षौंदेखि बाँदर स्थानान्तरणको माग गर्दै आएका थिए । पछिल्लो समयमा जनप्रतिनिधिहरू आएपछि भने सो काम सुरु गरिएको हो । एक महिना यता धनुकटा नगरपालिका–३, ४ र ६ बाट मात्र करिब ५ सयको हाराहारीमा बाँदर समातिएको र समातिएका बाँदरलाई नगरपालिकाको समन्वयमा विभिन्न राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको वडा कार्यालयले जनाएका छन् । एउटा बाँदर समाएर स्थानान्तरणका लागि वडाहरूले २ हजार ३ सय रुपैयाँसम्म खर्च गरेका छन् । नगरपालिकाले बाँदर नियन्त्रण गर्न थालेपछि बाँदरको उपद्रो पनि कम हुने अपेक्षा स्थानीयले गरेका छन् ।